अडानको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी तथा अन्तरक्रिया, पेशागत एकता र आचार संहितामा जोड
वीरगञ्ज, साउन २० — नेपाल अडिटर्स एसोसिएसन (अडान) को २१औँ स्थापना दिवसको अवसरमा नेपालभर विभिन्न कार्यक्रम आयोजना भइरहेका बेला अडान पर्साले बुधबार वीरगञ्जमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी स्थापना दिवस मनाएको छ।
कार्यक्रम अन्तर्गत पर्सा जिल्लाका लेखापरीक्षक तथा लेखा व्यवसायीहरू वीरगञ्जको घण्टाघरमा भेला भई भानुचोकको परिक्रमा गर्दै पुनः घण्टाघर तर्फ फर्किएका थिए। त्यसपछि आयोजित अन्तरक्रिया कार्यक्रममा पेशागत एकता, आचार संहिताको पालना तथा लेखा परीक्षकहरूको हकहितका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अडानका केन्द्रीय सदस्य दिनानाथ रौनियारले लेखापरीक्षकहरूको संख्या घट्दै गएको तथा पेशालाई कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गर्दै पेशागत हकहित, सुरक्षा र सम्मानका लागि सबै लेखापरीक्षक एकजुट हुनुपर्नेमा जोड दिए।
अर्का केन्द्रीय सदस्य डा. सन्तोष कुमार साहले लेखा परीक्षकहरूलाई बिचौलिया र झोले प्रवृत्तिबाट टाढा रहँदै इमान्दार, निष्पक्ष र मर्यादित रूपमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
कार्यक्रममा केन्द्रीय अनुशासन समितिका सदस्य प्रदुम्न प्रसाद सेढाई, वरिष्ठ लेखापरीक्षक श्यामनारायण श्रेष्ठ, रोशन श्रेष्ठ, दीपक ध्वज जोशी, श्याम ठाकुर, विजयराज शर्मा, जयन्त चौरसिया, रामसदाय सिंह, प्रेम उपाध्याय, किशोर गुप्ता, उमेशचन्द्र यादव तथा भिजन टिमका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।
अडान पर्साका उपाध्यक्ष प्रेमचन्द चौरसियाले सहभागी लेखापरीक्षक तथा अतिथिहरूलाई स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव कुलोत्तम पोखरेलले गरेका थिए भने व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष रामबाबु साहले सम्हालेका थिए।
अडान पर्साका अध्यक्ष गजेन्द्रमान सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले नियामक निकायले लागू गरेको आचारसंहिताको पूर्ण पालना गर्न तथा आफ्नो हस्ताक्षरको कुनै पनि प्रकारको दुरुपयोग हुन नदिन सबै लेखापरीक्षकलाई विशेष सतर्क रहन आग्रह गरे।
अध्यक्ष सिंहले कार्यक्रममा सहभागी भिजन टिमले लेखापरीक्षकहरूका लागि भेष्ट उपलब्ध गराएको तथा आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।
स्थापना दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले लेखापरीक्षकहरूबीच पेशागत एकता, अनुशासन, आचारसंहिताको पालना तथा पेशाको गरिमा संरक्षण गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।