मुस्लिम महिला हाईस्कुल बन्यो हरियाली अभियानको केन्द्र, लायन्स क्लबले गर्‍यो वृक्षारोपण

41

वीरगञ्ज, २१ भदौ ।

लायन्स क्लब अफ वीरगञ्ज गेटवेको आयोजनामा वीरगञ्ज–बहुअरीस्थित कुल्लिया उम्मे कुल्सुम लिल्बनात माध्यमिक विद्यालय (मुस्लिम महिला हाईस्कुल) परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय परिसरलाई हराभरा, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

लायन्स क्लब अफ वीरगञ्ज गेटवेका अध्यक्ष प्रकाशकुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका एरिया अध्यक्ष सुनिल गुप्ताको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा क्लबका सचिव कपिलदेव तिवारी, कोषाध्यक्ष वीरेन्द्र आर्य, लायन्स फैयाज आलम, वकिल रौनियार, श्यामबाबु प्रसादलगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।

त्यसैगरी, विद्यालयका प्रधानाध्यापक साबिर अहमद एराजसहित शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तथा वरिष्ठ समाजसेवी प्रकाशकुमार उपाध्यायले वृक्षारोपण प्रकृति संरक्षणसँगै भावी पुस्तालाई वातावरणप्रति जिम्मेवार बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले विद्यालयमा आयोजना गरिने यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वृक्षारोपणको महत्व र प्रकृति संरक्षणसम्बन्धी चेतना अभिवृद्धि हुने बताउनुभयो।

उहाँले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएकाले रोपिएका बिरुवाको संरक्षण तथा हुर्काउने कार्यमा विद्यालय, विद्यार्थी र समुदायले समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणका लागि नियमित रूपमा वृक्षारोपण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

विद्यालय परिसरमा गरिएको वृक्षारोपणले वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै विद्यार्थीहरूमा प्रकृति र पर्यावरणप्रतिको सकारात्मक सोच तथा जिम्मेवारीको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.