सुधीर पटेलको नेतृत्वमा जेनजी पर्साद्वारा १५ लाखको राहत सामग्री संकलन
वीरगञ्ज, भदौ २७ —
जेनजी पर्साको आयोजनामा बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि करिब १० देखि १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलको नेतृत्वमा संकलन गरिएको राहत सामग्री आजै धादिङतर्फ पठाउने तयारी गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी र धादिङका प्रमुख जिल्ला अधिकारीबीचको समन्वयमा प्रभावित क्षेत्रमा आवश्यक सामग्री पहिचान गरी सोहीअनुसार राहत पठाउन लागिएको पटेलले बताए।
संकलित राहत सामग्रीमा दाल, चामल, भाँडाकुँडा, लत्ताकपडा, चप्पललगायत दैनिक जीवनमा आवश्यक पर्ने सामग्री रहेका छन्। विपद्का कारण प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले स्थानीयस्तरबाट सहयोग जुटाएर राहत संकलन गरिएको जेनजी पर्साले जनाएको छ।
युवा नेता पटेलले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए। संकलित राहत सामग्री स्थानीय प्रशासनसँगको समन्वयमा वास्तविक आवश्यकता भएका परिवारसम्म पुर्याइने उनले जानकारी दिए।
राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित प्रशासनसँग निरन्तर समन्वय गरिने जनाइएको छ। जेनजी पर्साले मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राहत अभियान सञ्चालन गरेको जनाएको छ।