पर्सा प्रहरीद्वारा भन्सार छली ल्याइएका ११ लाख बढीका लत्ताकपडा बरामद

55

वीरगञ्ज भदौ २९ , आनन्द पटेल ।

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वा टोलबाट भन्सार छली ओसारपसार भइरहेको अवस्थामा ११ लाख रुपैयाँ भन्दा बढी मूल्यका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्राप्त सूचनाका आधारमा प्रहरी टोलीले भदौ २७ गते साँझ करिब ६ः३० बजे इनर्वा टोलमा निगरानी तथा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ओसारपसार भइरहेको अवस्थामा ती सामान नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका विभिन्न किसिमका लत्ताकपडाको कुल मूल्य ११ लाख २ हजार १४० रुपैयाँ रहेको जनाएको छ। भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिएपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको थियो।

बरामद गरिएका सम्पूर्ण लत्ताकपडा आवश्यक कारबाहीका लागि भदौ २८ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी चक्रबहादुर मल्लले जानकारी दिए।

पर्सा प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि निगरानी बढाउँदै आएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.