भारी वर्षाको जोखिमपछि जीतपुरसिमराका सबै विद्यालय दुई दिन बन्द

55

बारा, ८ असोज । भारीदेखि अति भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाले बिहीबार सूचना जारी गर्दै असोज ८ र ९ गते सामुदायिक तथा संस्थागत (निजी) विद्यालयको पठनपाठन स्थगित गर्न निर्देशन दिएको हो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त पत्राचारलाई आधार बनाएर विद्यार्थीको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसादद्वारा हस्ताक्षरित सूचनामा प्रतिकूल मौसमका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै दुई दिन विद्यालय बन्द गर्न सबै विद्यालयलाई अनुरोध गरिएको छ।

साथै, विद्यालय बन्द रहेको अवधिमा विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिन तथा प्रतिकूल मौसममा अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरिएको छ। भारी वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, सडक तथा भौतिक संरचनामा क्षति पुग्न सक्ने र चट्याङको जोखिमसमेत रहेकाले सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.