बालबालिकाको आवाज जिल्लास्तरमा उठाउन पर्सामा बालक्लब सञ्जाल गठन

53

वीरगञ्ज, ७ असोज आनन्द पटेल।

बालबालिकाको अधिकार संरक्षण, प्रवर्द्धन तथा बाल सहभागितालाई संस्थागत गर्दै उनीहरूको आवाजलाई जिल्लास्तरमा प्रभावकारी रूपमा उठाउने उद्देश्यले पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन गरिएको छ।

जिल्ला समन्वय समिति, पर्साको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जनप्रसाद साह सोनारको प्रमुख आतिथ्य तथा उपप्रमुख पुरनप्रसाद कुर्मी र जिल्ला समन्वय अधिकारी उमेशराज रिमालको विशिष्ट आतिथ्यमा सञ्जाल गठन गरिएको हो।

भेलाले वीरगञ्ज महानगरपालिकाकी करिश्मा गुप्तालाई जिल्ला बालक्लब सञ्जालको अध्यक्षमा चयन गरेको छ। त्यस्तै, धोबिनी गाउँपालिकाकी समसुन खातुन उपाध्यक्ष, बहुदरमाई नगरपालिकाका सलमान हवारी सचिव र सखुवा प्रसौनी गाउँपालिकाका सुरज साह सहसचिवमा चयन भएका छन्। जिल्लाका बाँकी स्थानीय तहबाट समेत प्रतिनिधित्व हुने गरी १५ सदस्यीय जिल्ला बालक्लब सञ्जाल गठन गरिएको हो।

कार्यक्रममा दिब्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, वीरगञ्ज महानगरपालिकाकी बालकल्याण अधिकारी सावित्री कुमारी भण्डारी, बाल हेल्पलाइन १०९८ का कृष्णप्रसाद यादव, दिब्य विकास स्रोत केन्द्रकी कार्यक्रम संयोजक रीना चौधरी, जिल्लाका विभिन्न स्थानीय तहका प्रतिनिधि तथा बालक्लब सञ्जालका प्रतिनिधिहरूको उपस्थिति थियो।

नवगठित सञ्जालले पर्सा जिल्लाका बालबालिकाका साझा सवाल तथा समस्यालाई जिल्लास्तरमा उठान गर्नुका साथै बालअधिकार संरक्षण, बाल सहभागिता, बालमैत्री नीति तथा कार्यक्रम निर्माण, बालबालिकामाथि हुने हिंसा तथा विभेद न्यूनीकरण र बालमैत्री वातावरण निर्माणमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

स्थानीय तहमा गठित बालक्लब सञ्जालहरूबीच समन्वय र सहकार्यलाई थप सुदृढ गर्दै बालबालिकाको अर्थपूर्ण सहभागितालाई निर्णय प्रक्रियासम्म पुर्‍याउन जिल्ला बालक्लब सञ्जाल गठन हुनु महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

कार्यक्रमको सहजीकरण दिब्य विकास स्रोत केन्द्र, पर्साका कार्यक्रम अधिकृत संजय चौधरीले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.