१८ वर्षे पत्रकारिता यात्रापछि राजनीतिमा राधिका जोशी, ‘जय नेपाल पार्टी’को संस्थापक केन्द्रीय सदस्य

77

 

काठमाडौँ । लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मी राधिका जोशी (अनुपमा) औपचारिक रूपमा सक्रिय राजनीतिमा प्रवेश गरेकी छन्। १८ वर्ष लामो पत्रकारिता यात्रापछि उनी नवगठित ‘जय नेपाल पार्टी’मा आबद्ध भएकी हुन्। जोशीले पार्टीको संस्थापक केन्द्रीय सदस्यको जिम्मेवारी समेत ग्रहण गरेकी छन्।

वि.सं. २०६४ सालमा सुदूरपश्चिमको दार्चुलाबाट सञ्चारकर्म सुरु गरेकी जोशीले करिब १६ वर्ष काठमाडौँका विभिन्न एफएम रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यममा काम गरेकी छन्। विशेषगरी टेलिभिजन पत्रकारितामा उनले आफ्नो पहिचान बनाएकी थिइन्।

यस अघि जोशीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मिडिया सङ्गठनको कोषाध्यक्ष तथा केन्द्रीय प्रचारप्रसार विभागको सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालेकी थिइन्। केही समयअघि डा. शमशेर राणाले राप्रपा परित्याग गरेपछि जोशीले पनि पार्टीको प्रचारप्रसार विभाग सदस्यको जिम्मेवारीबाट अलग भएकी थिइन्।

राप्रपाबाट अलग भएपछि जोशी ‘जय नेपाल पार्टी’मार्फत सक्रिय राजनीतिमा आएकी हुन्। सञ्चार क्षेत्र मार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनले अब राजनीतिक माध्यमबाट देश र जनताको सेवा गर्ने उद्देश्यसहित नयाँ यात्रा सुरु गरेको बताइएको छ।

‘जय नेपाल पार्टी’मा उनलाई संस्थापक केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ। साथै उनी डा. धवल शमशेर राणाको प्रेस संयोजकको भूमिकामा समेत रहेकी छन्। पार्टीले उनको लामो सञ्चार अनुभवलाई संगठन तथा प्रचारप्रसारका क्षेत्रमा उपयोग गर्ने अपेक्षा गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.