बीपीएस कलेजका विषयमा प्रकाशित समाचारप्रति डाइरेक्टर पटेलको आपत्ति, तथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह

55

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ स्थित वीरगञ्ज पब्लिक इङ्गलिस सेकेण्डरी स्कुल (बीपीएस प्लस टु कलेज) का सम्बन्धमा पछिल्लो समय विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार तथा सामग्रीप्रति कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलले आपत्ति जनाएका छन्।

डाइरेक्टर पटेलले कलेजका विषयमा वास्तविकता र तथ्य नबुझी प्रकाशित गरिएका केही सामग्रीले संस्था तथा सम्बन्धित व्यक्तिको प्रतिष्ठामा असर पुर्‍याएको बताएका छन्। कलेजसँग सम्बन्धित कुनै विषयमा जिज्ञासा वा भ्रम भए आधिकारिक स्रोतसँग जानकारी लिएर मात्रै समाचार सम्प्रेषण गर्न उनले सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।

कलेजका अनुसार पछिल्लो समय केही शिक्षकले कलेज छाडेको विषयलाई विभिन्न ढङ्गले प्रचार गरिए पनि उनीहरूले व्यक्तिगत, पारिवारिक तथा समय व्यवस्थापनसँग सम्बन्धित कारणले कलेजबाट बिदा लिएका हुन्।

पटेलका अनुसार अनिस सर व्यक्तिगत तथा पारिवारिक कारणले दिल्लीमा बसाइँ सर्ने निर्णय गरेपछि कलेजबाट अलग भएका हुन्। त्यस्तै, अशोक जैसवाल काठमाडौंमा बसोबास गर्ने योजनाका कारण कलेजबाट अलग भएको उनले बताए। उनीहरूको कलेज छाड्ने निर्णयमा अन्य कुनै कारण नरहेको पटेलको दाबी छ।

यसैगरी, केही शिक्षक सरकारी विद्यालयमा समेत अध्यापनरत रहेकाले विद्यालयको समय परिवर्तन भएपछि कलेजमा नियमित समय दिन कठिनाइ भएको कलेजले जनाएको छ। राजेश्वर सर, वीरेन्द्र केसरी र दीपक खत्री लगायत शिक्षक सरकारी विद्यालयमा समेत अध्यापनरत रहेको कलेजको भनाइ छ।

नेपाल सरकारको निर्णयअनुसार सरकारी विद्यालयहरू मर्निङ सिफ्टमा सञ्चालन हुन थालेपछि सरकारी विद्यालय र कलेजको अध्यापन समय एकआपसमा जुध्न गएको पटेलले बताए। समय व्यवस्थापनमा समस्या भएपछि सम्बन्धित शिक्षकहरूले कलेजमा निरन्तरता दिन कठिनाइ भएको जानकारी गराएपछि उनीहरूको व्यक्तिगत अनुरोध र बाध्यतालाई सम्मान गर्दै कलेजले बिदा दिएको उनले स्पष्ट पारे।

कलेजले शिक्षकहरूको बिदाइलाई लिएर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीले वास्तविक अवस्थालाई गलत रूपमा प्रस्तुत गरेको दाबी गरेको छ। शिक्षक तथा कर्मचारीसँगको सम्बन्धलाई कलेजले सदैव सम्मान गर्दै आएको जनाउँदै व्यक्तिगत तथा व्यावसायिक कारणले कर्मचारीले लिने निर्णयलाई अन्य विषयसँग जोडेर प्रचार नगर्न आग्रह गरिएको छ।

डाइरेक्टर पटेलले आफू वीरगञ्जमै रहे पनि कलेजका सम्बन्धमा समाचार प्रकाशन गर्नुअघि आफू वा कलेज प्रशासनसँग सम्पर्क नगरी अन्य व्यक्तिको भनाइका आधारमा समाचार सम्प्रेषण गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

“सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्नु पत्रकारिताको धर्म हो। एकपटक पनि सम्बन्धित पक्षसँग सम्पर्क नगरी अरूको भनाइका आधारमा समाचार प्रकाशन गर्दा व्यक्तिको बदनाम हुनुका साथै संस्थाको प्रतिष्ठामा समेत आँच पुग्न सक्छ,” पटेलले भने।

उनले कलेजले अभिभावकविहीन तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई निःशुल्क अध्यापन गराउँदै आएको विषयलाई बेवास्ता गर्दै केवल नकारात्मक पक्षलाई मात्र प्रस्तुत गरिएको दाबी गरे। यस्ता विषयमा समेत सञ्चार माध्यमले तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नुपर्ने उनको भनाइ छ।

पटेलले आगामी दिनमा कलेज तथा आफ्नो प्रतिष्ठामा असर पुग्ने गरी भ्रामक वा तथ्यहीन सामग्री प्रकाशन तथा प्रसारण भए आवश्यक कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन्। कलेजसँग सम्बन्धित विषयमा तथ्य र आधिकारिक जानकारीका आधारमा मात्रै सामग्री सार्वजनिक गर्न उनले सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.