बिन्दवासिनीमा महिला नेतृत्व विकास सम्बन्धी सहकर्मी सिकाइ सत्र सम्पन्न

65

वीरगन्ज, १४ असोज।

वीरगंजमा बुधबार महिला नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी सहकर्मी सिकाइ सत्र सम्पन्न भएको छ।  दलित महिला संघ पर्साको आयोजना तथा Woman Fund Asia को सहयोगमा आयोजित कार्यक्रममा बिन्दवासिनी गाउँपालिका क्षेत्रका ३५ जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा महिला नेतृत्व विकास, अनुभव आदानप्रदान, सामाजिक सहभागिता तथा समुदायमा महिलाको भूमिकालगायत विषयमा छलफल गरिएको थियो।

कार्यक्रम बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति देवी चौरसियाको प्रमुख आतिथ्य तथा दलित महिला संघ पर्साकी अध्यक्ष नबिया देवी अबैधको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का तुलसी भण्डारी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतको विशिष्ट आतिथ्य रहेको थियो। सहभागी महिलाले नेतृत्वका क्रममा आफूले भोगेका अनुभव, चुनौती तथा समस्याबारे विचार आदानप्रदान गरेका थिए।

कार्यक्रमकी संयोजक अञ्जली कुमारी चौहानले सहकर्मी सिकाइमार्फत महिलाबीच ज्ञान, सीप र अनुभव आदानप्रदान हुनुका साथै नेतृत्व विकासमा सहयोग पुग्ने बताइन्। महिलालाई सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रिय रूपमा सहभागी गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

कार्यक्रममा दलित महिला संघकी कार्यकारी निर्देशक निला रामको समेत विशेष उपस्थिति रहेको थियो। सहभागी महिलाले महिला नेतृत्वलाई प्रभावकारी बनाउन निरन्तर सिकाइ, आपसी सहकार्य र अनुभव आदानप्रदान आवश्यक रहेको बताएका थिए।

आयोजकका अनुसार कार्यक्रमले महिलालाई आफ्ना अनुभव साझा गर्ने, एकअर्काबाट सिक्ने तथा समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान र सीप विकास गर्ने अवसर प्रदान गरेको छ।

Leave A Reply

Your email address will not be published.