वीरगन्ज महानगरपालिकाको बजेट २१ करोडले घट्यो, संशोधित बजेट बहुमतले पारित
वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट संशोधन गर्दै २१ करोड रुपैयाँले घटाएको छ। बुधबार सम्पन्न महानगरपालिकाको २१औँ विशेष नगरसभाले ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँको संशोधित बजेट बहुमतले पारित गरेको हो।
यस अघि १० असारमा सम्पन्न २०औँ नगरसभाले चालु आर्थिक वर्षका लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको थियो। त्यतिबेला मेयर राजेशमान सिंह निलम्बनमा रहेकाले तत्कालीन कार्यवाहक मेयर तथा हालका उपमेयर इम्तियाज आलमको अध्यक्षतामा नगरसभा सम्पन्न भएको थियो।
विशेष अदालतबाट सफाइ पाएपछि असोज ३ गतेदेखि पुनः मेयरको जिम्मेवारी सम्हालेका सिंहले बुधबार विशेष नगरसभा बोलाएर बजेट संशोधन गरेका हुन्।

संशोधित बजेटमा चालु तर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार रुपैयाँ अर्थात् ५६ प्रतिशत, पुँजीगत तर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार रुपैयाँ अर्थात् ४३ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ७ करोड रुपैयाँ अर्थात् १ प्रतिशत विनियोजन गरिएको छ।
महानगरपालिकाका अनुसार संशोधित बजेटको स्रोत तर्फ आन्तरिक राजस्वबाट १ अर्ब २७ करोड रुपैयाँ, संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ र नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यहोर्ने उल्लेख छ।

महानगरको आन्तरिक राजस्व परिचालनमा संकुचन आएको, वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँटबाट प्रक्षेपण अनुसार स्रोत प्राप्त हुन नसकेको र अनिवार्य चालु खर्चमा वृद्धि भएकाले बजेट संशोधन गर्नुपरेको मेयर सिंहले बताए।
विशेष नगरसभामा सिंहले घण्टाघर नजिक निर्माणाधीन बीपी उद्यानमा वाक–वे, बाल उद्यान, ज्येष्ठ नागरिक विश्राम केन्द्र तथा हरियाली विस्तार गरी सुरक्षित, प्रविधिमैत्री र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्ने योजना प्रस्तुत गरे। उक्त उद्यानलाई चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने उनले बताए।
त्यसैगरी, रातिको समयमा वीरगन्जलाई सुरक्षित र सौन्दर्यपूर्ण बनाउन ‘उज्यालो वीरगन्ज’ अभियानलाई थप प्रभावकारी बनाइने उनले बताए। महानगरका मुख्य सडक, चोक तथा भित्री बस्तीमा स्मार्ट एलईडी तथा हाइमास्ट बत्ती जडानलाई तीव्रता दिइने उनको भनाइ छ।
सडक कोरिडोर तथा डिभाइडरमा हरियाली प्रवद्र्धन, खुला स्थानमा वातावरणमैत्री पार्क निर्माण, अव्यवस्थित तार तथा होर्डिङ बोर्डको वैज्ञानिक व्यवस्थापन र ऐतिहासिक सम्पदा तथा पोखरीको सौन्दर्यीकरण गर्दै ‘स्वच्छ, हरित र वैभव वीरगन्ज’ अभियान सञ्चालन गर्ने योजना पनि मेयर सिंहले प्रस्तुत गरे।
शैक्षिक क्षेत्रलाई थप व्यवस्थित गर्न सार्वजनिक विद्यालयको दरबन्दी संरचना, विद्यार्थी अनुपात र भौतिक संरचनाबीच तादम्यता कायम गर्ने उनले बताए। भोजपुरी भाषा, संस्कृति, साहित्य तथा कलाको संरक्षण र प्रवद्र्धनका लागि भोजपुरी प्रतिष्ठान लगायत सम्बन्धित संस्था तथा व्यक्तिको सक्रियतामा कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।
नगरवासीको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यलाई ध्यानमा राख्दै आधारभूत स्वास्थ्य केन्द्र, योग शिविर, ध्यान केन्द्र, आरोग्य केन्द्र, खुला व्यायामशाला तथा मनोरञ्जनस्थललाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना पनि प्रस्तुत गरिएको छ। निजी क्षेत्रसँगको सहकार्यमा नगर बस सेवा सञ्चालन गर्ने योजना रहेको पनि मेयर सिंहले बताए।
यसैबीच, बुधबारको विशेष नगरसभामा उपमेयर इम्तियाज आलम उपस्थित भएनन्। नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्नो दलबाट निर्वाचित उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यलाई विशेष नगरसभामा सहभागी नहुन निर्देशन दिएको थियो।
यद्यपि, महानगरपालिकाका १५६ नगरसभा सदस्य मध्ये ११८ जना विशेष नगरसभामा सहभागी भएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए। उनका अनुसार आवश्यक बहुमत पुगेपछि मेयर सिंहले प्रस्तुत गरेको संशोधित बजेट नगरसभाबाट बहुमतले पारित भएको हो।