विद्युत् तार सर्ट हुँदा जगरनाथपुरमा आगलागी, पीडितलाई राहत दिने अध्यक्ष यादवको प्रतिबद्धता
वीरगन्ज, २३ कात्तिक । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपरडारीमा दीपावलीको राति आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
आइतबार राति स्थानीय कमलेश साहको फुसको घरमा विद्युत् तार सर्ट भएर आगलागी भएको हो। आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेका काठ तथा प्लास्टिकका फर्निचर, साइकल, टेन्टका सामान, खाद्यान्न लगायतका सामग्री जलेर नष्ट भएका छन्।
घरका सदस्यहरू लक्ष्मीपूजामा व्यस्त रहेका बेला आगलागी भएको पीडित साहले बताए। आगलागीबाट करिब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको उनले जानकारी दिए।
यसैबीच, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले सोमबार बिहान घटनास्थल पुगेर आगलागी पीडित साहको परिवारसँग भेटघाट गरेका छन्। उनले आगलागी स्थलको निरीक्षण गर्दै पीडित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।