पर्साको मधुबनीमा पटाका दुर्घटना : ८ वर्षीय बालकको उपचारका क्रममा मृत्यु
वीरगन्ज, २३ कात्तिक । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा आगोले पोलेर गम्भीर घाइते भएका ८ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका छोरा कुन्दन सहनी रहेका छन्। स्थानीयका अनुसार सोमबार बिहान करिब ८ बजे घर अगाडि पटाका पड्काउने क्रममा कुन्दनको छातीमा आगोले पोलेपछि उनी गम्भीर घाइते भई बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि वीरगन्ज स्थित तराई अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा रामगुलाम सहनीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पनि घर अगाडि पटाका पड्काउने क्रममा पटाकाको छर्रा छातीमा लागेर बालक गम्भीर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।