सांसद टेकबहादुर शाक्यको पहलमा जगन्नाथपुरमा सरसफाइ अभियान सुरु
पर्सा, ९ कार्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्यको पहलमा पर्साको जगन्नाथपुर गाउँपालिकामा सरसफाइ अभियान सुरु गरिएको छ। समुदायमा स्वच्छता, सामाजिक सचेतना तथा प्रहरी र नागरिकबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको हो।
अभियानमा स्थानीय बासिन्दा, प्रहरी, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले गाउँपालिकाको सरसफाइलाई प्रभावकारी बनाउनुका साथै स्वच्छ र स्वस्थ वातावरण निर्माणका लागि सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सांसद टेकबहादुर शाक्यले स्वच्छ, सभ्य र सुरक्षित समाज निर्माणका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले सरसफाइ तथा सामाजिक सचेतना सम्बन्धी अभियानलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै स्थानीय तह, प्रहरी प्रशासन र नागरिकबीच प्रभावकारी सहकार्य भएमा समाजमा रहेका विभिन्न विकृति तथा समस्यालाई न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरे।
अभियानका क्रममा समुदाय र प्रहरीबीचको समन्वय, सूचना आदानप्रदान, सामाजिक विकृति नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्ने विषयमा समेत छलफल गरिएको थियो। सहभागीहरूले स्थानीयस्तरमा देखिने समस्याको समाधानका लागि प्रहरी प्रशासन र नागरिकबीच निरन्तर सहकार्य तथा समन्वय आवश्यक रहेको बताएका थिए।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र नागरिकबीच आपसी विश्वास, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय नागरिकको सहभागितामा सञ्चालन हुने यस्ता अभियानले गाउँपालिकाको सरसफाइ सुधार गर्नुका साथै सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्नसमेत योगदान पुर्याउने विश्वास गरिएको छ।
सांसद शाक्यको पहलमा सुरु भएको सरसफाइ अभियानलाई आगामी दिनमा थप व्यापक बनाउँदै समुदायका विभिन्न क्षेत्रमा निरन्तर सञ्चालन गर्ने लक्ष्य लिइएको छ।