घडीअर्वा छठघाटको सुरक्षा व्यवस्था कडा बनाइने, सुरक्षा निकाय र आयोजकबीच छलफल

56

वीरगञ्ज । छठ पर्वलाई शान्तिपूर्ण, व्यवस्थित तथा सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले घडीअर्वा छठ पूजा व्यवस्थापन समिति र पर्साका सुरक्षा निकायका प्रमुखहरूबीच संयुक्त बैठक सम्पन्न भएको छ।

घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको सुरक्षा समितिका संयोजक मुन्ना साहको अध्यक्षतामा सम्पन्न बैठकमा घडीअर्वा पोखरी लगायत जिल्लाका छठघाटमा हुन सक्ने भक्तजनको भीड, सुरक्षा संवेदनशीलता, सरसफाइ तथा आवश्यक व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।

बैठकमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले छठघाटमा भक्तजनको चाप र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन, भीड व्यवस्थापन तथा सुरक्षा निगरानी बढाइने बताए। उनले छठ पर्वलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकाय पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धता जनाए।

बैठकमा श्रीजंग गणका प्रमुख सेनानी तथा गणपति लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति एसपी मोहनबहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपनिर्देशक सन्तोष ढुंगेल, वीरगञ्ज वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदी तथा ट्राफिक प्रहरी प्रमुख दीपेन्द्र श्रेष्ठलगायतको उपस्थिति थियो।

त्यसैगरी घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानु, पूर्वअध्यक्षहरू, आयोजक घडीअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष साह कानु, क्लबका पदाधिकारी तथा आयोजक सदस्य प्रभाकर गुप्ताको सहभागिता रहेको थियो।

बैठकमा सरसफाइ समितिका संयोजक शम्भु साह, अमिरी साह कानु, नेपाल रेडक्रस सोसाइटीका नगर सचिव प्रदीप गुप्ता, राजु साह लगायतले छठघाटको सरसफाइ, प्राथमिक उपचार, स्वयंसेवक परिचालन तथा भक्तजनलाई सहज रूपमा पूजा गर्ने वातावरण निर्माण गर्ने विषयमा आ–आफ्ना धारणा राखेका थिए।

बैठकले छठ पर्वका अवसरमा घडीअर्वा पोखरी क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकाय, आयोजक समिति तथा स्वयंसेवकबीच समन्वय र सहकार्य प्रभावकारी बनाउनेमा जोड दिएको छ। साथै भक्तजनको आवागमन सहज बनाउने, भीड नियन्त्रण गर्ने, सरसफाइ कायम राख्ने तथा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आवश्यक व्यवस्थापन मिलाउने विषयमा छलफल भएको थियो।

कार्यक्रममा घडीअर्वा स्पोर्ट्स क्लबका उपाध्यक्ष मनोहर साह कानुले स्वागत मन्तव्य राखेका थिए भने क्लबका सचिव सन्तोष गुप्ताले कार्यक्रम सञ्चालन गरेका थिए।

Leave A Reply

Your email address will not be published.