मिलन चौक बाराले जित्यो दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिताको उपाधी

38

चैत्र २५, पर्सा

डुमरवाना विकास मञ्चद्वारा आयोजित दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिताको उपाधि मिलन चौक बाराले जितेको छ ।

जीतपुर सिमरा वडा नम्बर १३ को वडा कार्यालय खेल मैदानमा भएको फाइनल खेलमा मिलन चौकले निप्टा क्लब भीमफेदी-४, निवुवाटारलाई ३ सेटले हराउँदै विजयी भएको हो ।

प्रतियोगिताको फाइनल खेल हिजोका लागि तय भएपनि अँध्यारो हुँदा पूरा हुन सकेन । आज बिहान ९ बजे पुनः आयोजना गरिएको खेलमा मिलन चौकले शानदार प्रदर्शन गर्दै उपाधि हात पारेको छ ।

विजेता टिम मिलन चौकले १ लाख नगद पुरस्कारसहित मेडल प्राप्त गरेको छ भने उपविजेता निप्टा क्लबले ५० हजार नगद र मेडल हात पारेको छ ।

खेलभरिका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू पनि पुरस्कृत भएका छन् । सरोज बर्देवा ‘बेस्ट प्लेयर’, नवीन महतो ‘बेस्ट स्पाइकर’ र मंजिल गुरुङ ‘बेस्ट लिफ्टर’ घोषित भए ।

कार्यक्रममा डुमरवाना विकास मञ्चका अध्यक्ष जितेन्द्र चौधरीले सभापतित्व गरेका थिए भने जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल प्रमुख अतिथि र उपप्रमुख भोला अधिकारी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै, वडा नम्बर १२, १३ र १५ का वडाध्यक्षहरूको पनि विशेष सहभागिता रहेको थियो ।

समापन समारोहमा महिला भलिबल म्याच विशेष आकर्षणको केन्द्र बनेको थियो । आयोजक समितिका अध्यक्ष चौधरीले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिँदै तेस्रो संस्करण आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै समुदायमा खेलकुदप्रतिको रुचि बढाउन महत्त्वपूर्ण योगदान दिएको छ ।

Leave A Reply

Your email address will not be published.