जनकपुरधाम : निरीक्षक ओम प्रकाश यादव असोज महिनाको उत्कृष्ट प्रहरीबाट सम्मानित

65

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक ओम प्रकाश यादवलाई २०८२ साल असोज महिनाको “महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)” घोषित गरेको छ।

निरीक्षक यादव हाल जिल्ला प्रहरी कार्यालय धनुषाको मातहतमा पर्ने इलाका प्रहरी कार्यालय यदुकुहाका प्रमुखको रूपमा कार्यरत छन्। उनले आफ्नो कार्यक्षेत्रभित्र रहँदै विभिन्न अपराध नियन्त्रण र कानून कार्यान्वयनमा उल्लेखनीय योगदान दिएका हुन्।

प्रहरीका अनुसार, यादवले फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरी कानूनी कारबाही अघि बढाउने, हुण्डी कारोबारमा संलग्न भारतीय नागरिकलाई पक्राउ गर्ने, र ठगी घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर पीडितलाई रकम फिर्ता गराउने जस्ता उल्लेखनीय कार्यहरू गरेका छन्।

त्यसैगरी, उनले रामपरी देवी बरही ठाकुर हत्या प्रकरणका अभियुक्त पक्राउ, Gen-Z आन्दोलनका क्रममा प्रमुख मन्त्रीको निवास र सरकारी भवनहरूमा आगजनी हुन नदिन भूमिका निर्वाह, साथै लुटपाटमा संलग्न व्यक्तिहरू र कारागारबाट फरार कैदीलाई पुनः पक्राउ गर्ने कार्यमा समेत सक्रियता देखाएका थिए।

यस्तै, जनकपुर उपमहानगरपालिका–२० रुपैठामा धार्मिक संवेदनशीलता देखिएको गणेश र दुर्गा मूर्ति सेलाउने विवादलाई नियन्त्रणमा ल्याउने र भीड नियन्त्रणमा प्रमुख भूमिका खेल्दै सम्भावित अप्रिय घटना हुन नदिएको पनि प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीका अनुसार, निरीक्षक यादवले आफ्नो जिम्मेवारी उच्च व्यवसायिकता, कुशलता र समर्पणका साथ पूरा गर्दै प्रहरी संगठनको छवि उच्च राख्न उल्लेखनीय योगदान दिएका छन्।

उनकै उत्कृष्ट कार्यको कदर स्वरूप जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई असोज महिनाको “महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)” उपाधि प्रदान गरेको हो।

Leave A Reply

Your email address will not be published.