भन्सार राजस्वमा सुस्तता : वीरगञ्जमा लक्ष्य भन्दा १४ अर्ब कम सङ्कलन

41

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा कुल रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ।

भन्सार विभागले सो अवधिमा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा लक्ष्यको करिब ८५ प्रतिशत मात्र हासिल भएको कार्यालयले जनाएको छ।

साउन, भदौ र असोज महिनामा राजस्व सङ्कलन सकारात्मक रहेपनि कात्तिक महिनामा भने सङ्कलन उत्साहजनक नभएको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए।

उनका अनुसार जेनजी आन्दोलन, छठ पर्व, बाढी–पहिरो लगायतका कारण कात्तिकमा व्यापारिक गतिविधि प्रभावित हुँदा राजस्वमा गिरावट आएको हो।

“चालु आवका प्रारम्भिक तीन महिनामा राजस्व लक्ष्य उन्मुख थियो,” ज्ञवालीले भने, “कात्तिकमा रु २३ अर्ब ६३ करोडको लक्ष्य राखिएकोमा रु १७ अर्ब ३३ करोड मात्र सङ्कलन हुन सक्यो।”

भन्सार कार्यालयका अनुसार

साउनमा – रु १८ अर्ब ४४ करोड

भदौमा – रु २० अर्ब ७३ करोड

असोजमा – रु १९ अर्ब ९ करोड

कात्तिकमा – रु १७ अर्ब ३३ करोड

राजस्व सङ्कलन भएको छ।

Leave A Reply

Your email address will not be published.