नेत्रदानलाई ‘महादान’ बनाउँदै तेरापन्थ युवक परिषद् वीरगञ्ज, १५ परिवार सम्मानित

42

वीरगञ्ज, १० भदौ आनन्द पटेल। नेत्रहीनको जीवनमा उज्यालो भर्ने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगञ्जको आयोजनामा ‘नेत्रदान जागरूकता एवं सम्मान समारोह’ सम्पन्न भएको छ। जैन धर्मशाला वीरगञ्जको सभाहलमा आयोजित समारोहमा नेत्रदानको महत्वबारे जनचेतना फैलाउँदै नेत्रदाताका परिवारलाई सम्मान गरिएको हो।

‘युवा शक्ति–राष्ट्र शक्ति’ भन्ने नाराका साथ आयोजित कार्यक्रम ‘Vision for Visionless 2.0’ अभियानअन्तर्गत सञ्चालन गरिएको थियो। कार्यक्रममा ‘नेत्रदान–एक वरदान’ भन्ने मुख्य सन्देश दिइएको थियो।

समारोहमा नेत्रदान गरेका स्व. उषादेवी दारुका, स्व. लक्ष्मणबहादुर श्रेष्ठलगायत १५ जना नेत्रदाताका परिवारजनलाई खादा तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। नेत्रदान गर्ने व्यक्तिको निधनपछि पनि उनीहरूको आँखामार्फत दृष्टिविहीन व्यक्तिले संसार देख्न सक्ने भएकाले नेत्रदानलाई मानव सेवाको महत्वपूर्ण कार्यका रूपमा वक्ताहरूले जोड दिएका थिए।

कार्यक्रमको अध्यक्षता एबीटीभीपीका उपाध्यक्ष अभिनन्दन नाहटाले गर्नुभएको थियो। नेपाल नेत्रज्योति संघका उपाध्यक्ष श्याम पोखरेल प्रमुख अतिथि तथा आईपीएबी दक्षिण–पूर्वी एसिया क्षेत्रका प्रमुख वाई.डी. सापकोटा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा केडिया आँखा अस्पताल वीरगञ्जका प्रबन्धक राजेश केडिया, प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह, तेरापन्थ युवक परिषद् वीरगञ्जका नवनियुक्त अध्यक्ष सुनील दुगड, जैन श्वेताम्बर तेरापन्थी सभा वीरगञ्जका मार्गदर्शक अशोककुमार बैद, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, युवा अभियन्ता अभिनाश झासहित चिकित्सक, समाजसेवी, परिषद्का पदाधिकारी, महिला, युवा, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

समारोहमा वक्ताहरूले मृत्युपछि शरीर माटोमा विलीन भए पनि नेत्रदानमार्फत कसैको जीवनमा दृष्टिको उज्यालो थप्न सकिने बताएका थिए। उनीहरूले नेत्रदानलाई ‘महादान’को संज्ञा दिँदै विशेषगरी युवाहरूलाई यस अभियानमा जोडिन आग्रह गरे।

वक्ताहरूका अनुसार नेपालमा करिब ९० हजार भन्दा बढी मानिस दृष्टिविहीनताको समस्याबाट प्रभावित छन् भने विश्वभर ४ करोडभन्दा बढी मानिस आँखाको दृष्टिबाट वञ्चित रहेको तथ्य प्रस्तुत गरिएको थियो। यस्तो अवस्थामा नेत्रदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमले दृष्टिविहीनको जीवनमा उज्यालो ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउने उनीहरूको भनाइ थियो।

कार्यक्रममा ‘अन्तःचक्षु प्रदाता प्रभुलाई नमस्कार’ भन्ने भावनाका साथ नेत्रदाताहरू तथा उनीहरूका परिवारप्रति कृतज्ञता व्यक्त गरिएको थियो। साथै कार्यक्रममा पुस्तक विमोचन समेत गरिएको थियो।

आयोजक तेरापन्थ युवक परिषद् वीरगञ्जले नेत्रदानप्रतिको सामाजिक सोचमा सकारात्मक परिवर्तन ल्याउँदै अझ धेरै मानिसलाई नेत्रदानका लागि प्रेरित गर्ने उद्देश्यले अभियानलाई आगामी दिनमा पनि प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।

Leave A Reply

Your email address will not be published.