मेयर बालेनको झापा–५ बाट चुनाव लड्ने तयारी, ओलीसँगै प्रतिस्पर्धा हुने संकेत

27

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। उनी त्यसको गृहकार्यमा जुटेको उनको सचिवालयले जनाएको छ।

झापा–५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली को निर्वाचन क्षेत्र हो। ओली सोही क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै आएका छन्। बालेनले त्यही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने तयारीस्वरूप झापाका स्थानीय नेता तथा कार्यकर्तासँग निरन्तर छलफल गरिरहेको सचिवालयको भनाइ छ।

आइतबार बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सभापति प्रकाश पाठक लगायत नेताहरूसँग छलफल गरेका थिए। साथै ललितपुरको ज्वागलस्थित आफ्ना सल्लाहकार कुमार ब्यञ्जनकार को निवासमा रास्वपाका अध्यक्ष पाठक, सचिव शम्भु सुस्केरा सहितको टोलीसँग भेटवार्ता भएको बालेनका एक सल्लाहकारले बताए।

“मेयरज्यू झापा–५ मा केपी ओलीसँगै चुनाव लड्ने तयारीमा हुनुहुन्छ। हाम्रो टिमले त्यहाँको मत सर्वेक्षणसमेत गरिरहेको छ,” ती सल्लाहकारले बताए।

बालेनका प्रमुख स्वकीय सचिव भुपदेव शाह का अनुसार बालेनले ५ गतेभित्र मेयर पदबाट राजीनामा दिएर ६ गते मनोनयन दर्ताका लागि झापा जाने तयारी गरेका छन्।
“५ गते राजीनामा दिनुहुन्छ, त्यसपछि सिधै झापा जानुहुन्छ,” शाहले बताए।

Leave A Reply

Your email address will not be published.