प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसमा बिरगञ्जमा प्रभात फेरि र रक्तदान कार्यक्रम सम्पन्न
बिरगञ्ज — प्रेस सेन्टर नेपालले आफ्नो २२औँ स्थापना दिवसको अवसरमा बिरगञ्जमा प्रभात फेरि र खुला रक्तदान कार्यक्रम गरी समारोह मनाएको छ। घण्टाघरबाट सुरु भएको प्रभात फेरि माईस्थान, आदर्शनगर हुँदै नगर परिक्रम गरी पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो।
प्रेस सेन्टर नेपाल, पर्साका अध्यक्ष शिवनाथ यादवको नेतृत्वमा आयोजित प्रभात फेरि र्याली पछि कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेले पत्रकारिता पेशागत मर्यादा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वमा आधारित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै तथ्यमा आधारित, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। विशेषगरी निर्वाचनजस्ता संवेदनशील विषयको रिपोर्टिङ गर्दा पूर्वाग्रह नराखी सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ थियो।
लामिछानेले पत्रकारिताको मूल धर्म सत्यको खोज र जनताको विश्वास कायम गर्नु भएको उल्लेख गर्दै गलत सूचना तथा अफवाह फैलिन नदिन पत्रकारहरू अझ जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाका सवाल अझै चुनौतीपूर्ण रहेको भन्दै पत्रकारहरू एकजुट हुनुपर्ने र सबैले एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो। यसो गरे मात्र पत्रकार सुरक्षित रहन सक्ने उहाँको भनाइ थियो।
नेपाल पत्रकार महासंघ पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश खनालले निर्वाचनका समयमा पत्रकार आचारसंहिता र निर्वाचन आचार संहितामा विशेष ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव दीपक गौतम, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह, मधेश प्रदेश अध्यक्ष मनोज पटेल, जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष पौडेल, प्रेस युनियन पर्साका उपाध्यक्ष अलि असगर लगायत पर्साका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।