ज्ञानदा एकेडेमीमा विज्ञान प्रदर्शनी, विद्यार्थीले प्रस्तुत गरे ६५ वैज्ञानिक परियोजना

43

वीरगञ्ज, ३० साउन । मधेस प्रदेशको शैक्षिक क्षेत्रमा विज्ञान तथा नवप्रवर्तनको प्रवर्द्धन गर्ने उद्देश्यले वीरगञ्ज स्थित ज्ञानदा एकेडेमीले आयोजना गरेको ‘ज्ञानदा साइन्स स्पेक्ट्रम–२०२६’ सम्पन्न भएको छ। विज्ञान प्रदर्शनीमा अभिभावक तथा विभिन्न विद्यालयका विद्यार्थीगरी २ हजार भन्दा बढीले अवलोकन गरेका छन्।

शुक्रबार विद्यालय परिसरमा आयोजित प्रदर्शनीमा कक्षा १ देखि १० सम्मका विद्यार्थीले तयार पारेका ६५ वटा वैज्ञानिक परियोजना तथा मोडेल प्रदर्शन गरिएको थियो। बिहान १० बजेदेखि सञ्चालन भएको प्रदर्शनीमा विज्ञान, प्रविधि, वातावरण, ऊर्जा तथा दैनिक जीवनसँग सम्बन्धित विभिन्न नमुना प्रस्तुत गरिएको थियो।

विद्यार्थीले आफूले अध्ययन गरेका विषयलाई प्रयोगात्मक रूपमा प्रस्तुत गरेका कारण प्रदर्शनीले उनीहरूको वैज्ञानिक सोच, सिर्जनशीलता तथा प्रयोगात्मक सिकाइ क्षमतालाई उजागर गरेको ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र प्रसाद कोइरालाले बताए।

प्रदर्शनीमा अभिभावक, विभिन्न विद्यालयका विद्यार्थी तथा कलेजका प्रतिनिधि र प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले तयार पारेका विभिन्न वैज्ञानिक मोडेल तथा परियोजनाबारे सहभागीहरूले रुचिपूर्वक जानकारी लिएका थिए।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सन्दीप तुलस्यानले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम उपस्थित थिए। विशिष्ट अतिथिका रूपमा वैज्ञानिकद्वय डा। विश्वेश्वर यादव र डा। अन्जय मिश्र सहभागी भएका थिए।

कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका प्रतिनिधि, शिक्षाविद्, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो। प्रदर्शनीले विद्यार्थीमा विज्ञानप्रतिको रुचि बढाउनुका साथै उनीहरूलाई नयाँ प्रविधि र नवप्रवर्तनतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.