१७ वर्षमा साउथ जोन माविको उल्लेखनीय फड्को, सरोज चौधरीको दूरदर्शी नेतृत्वको प्रभाव
माघ १८ वीरगञ्ज आनन्द पटेल
-
। साउथ जोन माध्यमिक विद्यालयले स्थापनाको १७औँ वर्ष पूरा गर्दै शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। विद्यालयका प्रधानाध्यापक तथा डाइरेक्टर सरोज पी.डी. चौधरी को दूरदर्शी नेतृत्वमा विद्यालयले शिक्षा मात्र नभई विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आफूलाई एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ।
१७औँ स्थापना दिवसको अवसरमा जारी सन्देशमा प्रधानाध्यापक चौधरीले विद्यालयको यो यात्रालाई समर्पण, निरन्तर प्रयास र सामूहिक सफलताको परिणाम भएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै मूल्य, अनुशासन र सिर्जनशीलता विकास गर्नु विद्यालयको मूल लक्ष्य हो।
विद्यालयले पछिल्ला वर्षहरूमा खेलकुद, व्यक्तित्व विकास र सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। फुटबल, क्रिकेटजस्ता खेलकुद प्रतियोगितामा विद्यार्थीहरूको सक्रिय सहभागिता र सफलता देखिन थालेको छ भने चित्रकला, हस्तकला, सांस्कृतिक कार्यक्रम, वक्तृत्वकला तथा वादविवाद प्रतियोगिता मा पनि विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
प्रधानाध्यापक चौधरीले अभिभावक, शिक्षक तथा कर्मचारीहरूको निरन्तर सहयोगकै कारण विद्यालय आज समग्र विकासको केन्द्र बन्दै गएको बताउनुभयो।
“शिक्षासँगै खेलकुद, कला र संस्कृतिमा विद्यार्थीलाई सक्षम बनाउनु नै आजको आवश्यकता हो,” उहाँको भनाइ छ।
विद्यालय परिवारले आगामी दिनमा पनि नविन सोच, आधुनिक शिक्षण पद्धति र अतिरिक्त क्रियाकलापलाई अझ सशक्त बनाउँदै उत्तरदायी, आत्मविश्वासी र सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।
साउथ जोन माध्यमिक विद्यालयको यो निरन्तर प्रगतिले विद्यालय मात्र नभई समग्र क्षेत्रको शैक्षिक गरिमा बढाएको शिक्षाविद्हरूको भनाइ छ।