बिपन्न परिवारका ११ जोडीलाई लेडिज सर्कलले दिलायो वैवाहिक खुशी

72

बिरगंज, माघ २० – बिरगंज लेडिज सर्कल–३ द्वारा आयोजना गरिएको “आओ एक घर बसाए” सामुहिक विवाह कार्यक्रम मंगलबार बिरगंजको जैन धर्मशालामा भव्य र सभ्य रुपले सम्पन्न भएको छ। कार्यक्रममा ११ जोडिको विवाह गरिएर नवदम्पती र उनका परिवारहरूको अनुहारमा खुशीको छटा देखा परेको थियो।

कार्यक्रमको उद्घाटन नेपाल लेडिज सर्कलकी केन्द्रीय अध्यक्ष शिवानी अग्रवाल र बिरगंज लेडिज सर्कलकी अध्यक्ष नन्दनी अग्रवाल ले संयुक्त रुपमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा भनिएको थियो कि आर्थिक अभावका कारण विवाह रोकिन नपरोस् भनी सामुहिक विवाह गरिने र यसले समाजमा आपसी एकता र भाईचारालाई बलियो बनाउने विश्वास गरिएको छ।

कार्यक्रमका प्रमुख आकर्षणमध्ये एक थियो नवदम्पतीहरूको बारात नगर परिक्रमा, जसमा दुल्हाहरु नाच्दै विवाहस्थल जैन धर्मशाला पुगे। विवाहस्थलमा बधुपक्षले दुल्हाहरुलाई द्वारपूजा गरेर स्वागत गरे। त्यसपछि वरमाला, कन्या निरीक्षण र अग्नि फेरा सम्पन्न भयो र नवदम्पतीहरू सामुहिक रूपमा विदाइ गरिए।

नवदम्पतीहरूलाई आभूषण, बिछिया, जेन्ट्स औँठी, पायल, नथ, ढोलना, लेडिज जेन्ट्स घडी, सुटकेस, साडी, शर्ट–पाइन्ट, शाल, टोपी, बेड सेट, झुल, ग्यास चुल्हो, राइस कुकर, हिटर, पंखा, भाँडा सेट, चामल, आटा, बेसन लगायतका दैनिक उपयोगका सामग्री उपहारस्वरूप प्रदान गरिएको थियो।

कार्यक्रममा बिरगंजका समाजसेवी, सामाजिक अभियन्ता, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नवदम्पतीका परिवारजनको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो पुण्यकार्यले समाजमा सकारात्मक सन्देश फैलाउने र आपसी भाईचारालाई प्रगाढ बनाउने उल्लेख गर्दै सर्कल परिवारप्रति धन्यवाद ज्ञापन गरेका थिए।

बिरगंज लेडिज सर्कलका सदस्यहरूले नवदम्पतीहरूलाई सफल र सुखी दम्पत्य जीवनको शुभकामना दिँदै कार्यक्रम सम्पन्न गरेका थिए।

Leave A Reply

Your email address will not be published.