सरकारले निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगायो, सामाजिक सञ्जालमा निगरानी कडा
काठमाडौँ – सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार यो प्रतिबन्ध लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
सामाजिक सञ्जालमा दुरूपयोग बढ्दै गएकोले नेपाल प्रहरीले सञ्चालनमा ल्याएको आधुनिक युनिटलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको उनले बताए। यसैगरी, निर्वाचन आचार संहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको निगरानीमा पनि टोलीले काम गरिरहेको छ।
काफ्लेका अनुसार निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको छ। साथै, निर्वाचन प्रहरीको बीमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको छ।
गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचनको सुरक्षामा कुनै कमीकमजोरी नगर्न र चुस्त व्यवस्थापनमा लाग्न निर्देशन दिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार जिम्मेवार निकायले कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाबारे समीक्षा गरी प्रभावकारी व्यवस्था गर्न आवश्यक निर्देशन दिएका छन्।
मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगमा ध्यान दिन अनुरोध गर्दै, मिथ्या र भ्रमपूर्ण सूचना वा कसैलाई लाञ्छना लगाउने गतिविधि गरे कारबाही हुने चेतावनी पनि जारी गरेको छ।