गहवा माईको चौथो रथयात्रा लक्षित भक्तिमय भजन सार्वजनिक

34

वीरगञ्ज, असार २३

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले आगामी असार ३२ गते आयोजना हुने मधेश प्रदेशकै ऐतिहासिक तथा जन आस्थाको केन्द्र श्री गहवा माईको चौथो विशाल रथयात्रालाई लक्षित गर्दै तयार पारिएको भक्तिमय भजन “सोनवा के रथ गहवा माई के” को डिजिटल भिडियो सार्वजनिक गरेको छ।

मंगलबार वीरगञ्ज स्थित माईस्थान मन्दिर परिसरमा आयोजित विशेष समारोहबीच भजनको विमोचन गरिएको हो। गहवा माईप्रतिको आस्था, श्रद्धा र भक्तिभावलाई समेटेर निर्माण गरिएको उक्त भजनमा वीरगञ्जका युवा गायक चन्दन पण्डितले स्वर दिएका छन्। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस भजनले गहवा माईको महिमा देश–विदेशसम्म फैलाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कार्यक्रममा आयोजकहरूले भक्तजनलाई “CHANDAN PANDIT OFFICIAL” युट्युब च्यानलमार्फत भजन हेर्न, सुन्न तथा सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरी गहवा माईको महिमा फैलाउन आग्रह गरेका थिए।

भजन विमोचन कार्यक्रम समितिका अध्यक्ष श्याम पोखरेलको अध्यक्षता तथा समाजसेवी प्रकाश उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा गहवा माई रथयात्रा–२०८३ का संयोजक बसन्त कुमार गुप्ता, समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता), विद्वान पण्डित तथा ज्योतिषी राजिव रन्जन भार्द्वजसहित समितिका पदाधिकारी, समाजसेवी, स्थानीय बुद्धिजीवी तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले गहवा माईको रथयात्रा वीरगञ्जको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसको संरक्षण, प्रवर्द्धन तथा सफल आयोजनाका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए।

समितिका अनुसार आगामी असार ३२ गते आयोजना हुने चौथो विशाल रथयात्रामा हजारौं श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। रथयात्रालाई सभ्य, भव्य र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाइएको समितिले जनाएको छ।

Leave A Reply

Your email address will not be published.