हिन्दू राष्ट्र र राष्ट्रिय एकताको एजेन्डासहित पर्सा–२ मा उम्मेदवार सन्तोष पटेलको घरदैलो अभियान तीव्र
पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२८ बगही, इनरुवा र सित्वारमा आज नेपाल जनता पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। घर–घरमा पुगेका पार्टी प्रतिनिधिहरूले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पार्टीका राष्ट्रिय एजेन्डा र भावी योजना प्रस्तुत गरेका छन्।
नेपाल जनता पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सन्तोष पटेलले “एक भोट राष्ट्रका लागि, राष्ट्रिय एकता, हर हर कमल घर घर कमल” नारालाई अघि सार्दै सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापना पार्टीको प्रमुख एजेन्डा रहेको बताए। उनले राष्ट्रिय स्वाभिमानको रक्षा, भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्न नेपाल जनता पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे।
घरदैलो क्रममा पार्टीले युवा, महिला र विद्यार्थीलाई उच्च सम्मान, आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, शिक्षा–स्वास्थ्य–सुशासन, विकास र सुरक्षा, किसानलाई उच्च प्राथमिकता, खेलकुद क्षेत्रको प्रोत्साहन तथा रोजगारी सिर्जनामार्फत क्षेत्रको समृद्धि हासिल गर्ने लक्ष्य जनतामाझ प्रस्तुत गरेको थियो।
उम्मेदवार सन्तोष पटेलले कमल छापमा मतदान गरी साथ, सहयोग र आशीर्वाद दिन स्थानीय जनतालाई आग्रह गर्दै पर्सा–२ लाई समृद्ध र स्वाभिमानी क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे। घरदैलो कार्यक्रममा स्थानीयवासीको सहभागिता र चासो उल्लेखनीय देखिएको थियो।