भाषण होइन काम: अकलेश कुमार साहको पहलमा पकाहाँ मैनपुरमा ३५ लाखको सडक ढलान योजना अघि बढ्यो

11

पर्सा, पकाहाँ मैनपुर ।

पर्सा जिल्लाको पकाहाँ मैनपुर गाउँपालिकामा भौतिक पूर्वाधार विकासले ठोस रूप लिन थालेको छ। वर्षौँदेखि उपेक्षित रहँदै आएको गाउँपालिका–४ अन्तर्गत ठूलो लहावरथकरीदेखि आत्माराम पथसम्मको सडक अब ढलानसहित पक्की बन्ने भएको छ। सडक निर्माणका लागि आवश्यक टेन्डर प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको छ।

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोग तथा पकाहाँ मैनपुर गाउँपालिकाका मेयर प्रत्याशी एवं युवा नेता अकलेश कुमार साहको विशेष पहलमा उक्त योजना अघि बढाइएको हो। सम्बन्धित स्रोतका अनुसार करिब ३५ लाख रुपैयाँको लागतमा सडक निर्माण योजना टेन्डर गरिएको छ।

स्थानीय विकासलाई प्राथमिकतामा राख्दै आएका युवा नेता साहले विगत आर्थिक वर्षहरूमा पनि गाउँपालिकाका विभिन्न वडामा विकास योजनाहरू ल्याई निर्माण कार्य अघि बढाएका थिए। उनी जनतासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्याको पहिचान गर्ने र आवश्यक परे सम्बन्धित निकायसँग समन्वय गरी बजेट सुनिश्चित गर्न सक्रिय रहँदै आएका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार ठूलो लहावरथकरीदेखि आत्माराम पथसम्मको सडक लामो समयदेखि जीर्ण अवस्थामा रहेकाले वर्षायाममा आवत–जावत अत्यन्तै कष्टकर हुने गरेको थियो। विद्यार्थी, बिरामी, किसान तथा व्यापारीहरू सबैले दैनिक जीवनमा समस्या भोग्दै आएका थिए।

अब ढलानसहितको पक्की सडक निर्माण भएपछि यातायात सहज हुने मात्र नभई स्थानीय व्यापार, कृषि उत्पादनको बजार पहुँच र समग्र आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन आउने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।

स्थानीयहरूले विकासका नाममा भाषणभन्दा कामलाई प्राथमिकता दिने नेतृत्व आवश्यक रहेको बताउँदै युवा नेता साहको सक्रियताको खुलेर प्रशंसा गरेका छन्। मधेश प्रदेश सरकारको सहयोग र स्थानीय नेतृत्वको पहलले पकाहाँ मैनपुरमा विकासले गति लिएको भन्दै उनीहरूले खुशी व्यक्त गरेका छन्।

स्थानीयवासीहरूका अनुसार अबको मुख्य आवश्यकता भनेको यस्ता योजनाहरूलाई समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्नु हो। आगामी दिनमा पनि जनमुखी, दीर्घकालीन र परिणाममुखी विकास योजनाहरू निरन्तर अघि बढ्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.