पर्सा–२ मा टेमानीको घरदैलो तीव्र, फुलवरियामा जनताका आधारभूत समस्या मुख्य एजेन्डा

49

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानीले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। बुधबार पर्सागढी नगरपालिका वडा नं. ७ को फुलवरिया टोलमा पुगेका टेमानीले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र अपेक्षा सुने।

घर–घरमा पुगेर गरिएको संवादका क्रममा स्थानीयले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका समस्या मुख्य रूपमा उठाएका थिए। ग्रामीण भेगमा आधारभूत सेवा नै प्रभावकारी रूपमा उपलब्ध नभएको भन्दै उनीहरूले शुद्ध खानेपानी अभाव, बिग्रिएका धारा र सीमित आपूर्तिले दैनिक जीवन प्रभावित भएको गुनासो गरे।

विद्यालयमा पर्याप्त शिक्षक र भौतिक पूर्वाधार नहुँदा बालबालिकाको पढाइ कमजोर बन्दै गएको तथा सामान्य उपचारका लागि समेत टाढाको स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ थियो। स्वास्थ्य चौकीमा औषधि, उपकरण र जनशक्ति अभावले सेवा प्रभावकारी हुन नसकेको उनीहरूले बताए।

कृषि क्षेत्रमा मल–बीउ अभाव, सिँचाइ सुविधा कमी र उत्पादनको उचित मूल्य नपाउने समस्या रहेको किसानहरूको गुनासो थियो। कृषि नै मुख्य पेशा भए पनि राज्यको पर्याप्त सहयोग नपाउँदा जीवनयापन कठिन बन्दै गएको उनीहरूको भनाइ छ।

स्थानीयका गुनासा सुनेपछि उम्मेदवार टेमानीले निर्वाचित भएमा खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। ग्रामीण विकास बिना समग्र समृद्धि सम्भव नभएको उल्लेख गर्दै उनले जनताका आधारभूत आवश्यकता पूरा गर्ने स्पष्ट योजनासहित आफू चुनावी मैदानमा रहेको बताए।

घरदैलो अभियानसँगै पर्सा–२ मा चुनावी गतिविधि तीव्र बन्दै गएको देखिएको छ।

Leave A Reply

Your email address will not be published.