पर्सा–३ मा रूपेश पाण्डेको अभियान तीव्र, पकहाँमैनपुरमा देखियो उत्साहपूर्ण सहभागिता

96

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य पदका नेकपा (एमाले) का उम्मेदवार रूपेश कुमार पाण्डेको चुनावी अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको घरदैलो, जनदर्शन तथा मतदाता भेटघाट कार्यक्रममार्फत उनले व्यापक जनसम्पर्क विस्तार गरिरहेका छन्।

“गयो दिन भाषणको, अब परिणाम चाहियो” भन्ने नारासहित पाण्डे विकास, सुशासन र जवाफदेहिताको एजेन्डा लिएर मतदातामाझ पुगेका छन्। घरदैलो कार्यक्रममा नागरिकले अब आश्वासनभन्दा परिणाममुखी नेतृत्व खोजिरहेको सन्देश स्पष्ट देखिएको सहभागीहरूको भनाइ छ। युवापुस्ताको सक्रियता र अग्रजहरूको समर्थनले पाण्डेको उम्मेदवारी थप बलियो बन्दै गएको एमाले पक्षको दाबी छ।

पकहाँमैनपुर गाउँपालिकामा सम्पन्न घरदैलो तथा जनदर्शन कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रममा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, सल्लाहकार परिषद् सदस्य शिव पटेल, संविधानसभा सदस्य प्रधुमन चौहान, अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश निषाद, उपाध्यक्ष अकलेश कुमार साह, विजय चौरसिया लगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।

नेतृत्व तहका व्यक्तित्वहरूको सहभागिताले अभियानमा थप ऊर्जा थपिएको एमाले स्रोतको भनाइ छ। स्थानीय तहमा संगठनात्मक सक्रियता बढेसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको देखिएको छ।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा पूर्वाधार निर्माणमा ठोस पहल आवश्यक रहेको धारणा राखेका थिए। उम्मेदवार पाण्डेले आफू निर्वाचित भएमा जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पर्सा–३ मा अहिले चुनावी गतिविधि तीव्र बन्दै जाँदा एजेन्डा केन्द्रित प्रतिस्पर्धा देखिन थालेको छ। फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा क्षेत्रको राजनीतिक माहोल थप तातिँदै गएको छ।

Leave A Reply

Your email address will not be published.