हिजो एमाले विरुद्ध, आज एमालेबाटै उम्मेदवार — यादवमाथि दोहोरो मापदण्डको आरोप

140

वीरगञ्ज ।

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवको उम्मेदवारीलाई लिएर राजनीतिक बहस थप तीव्र बनेको छ। विगतमा नेकपा एमाले र त्यसका शीर्ष नेतृत्व, विशेषगरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका यादव अहिले त्यही पार्टीबाट उम्मेदवार बनेर मत मागिरहँदा मतदाता माझ गम्भीर प्रश्न उठ्न थालेका छन्।

एक समय एमालेको नीति, नेतृत्व र निर्णय प्रक्रियामाथि सार्वजनिक रूपमै प्रश्न उठाएका यादव अहिले पार्टी परिवर्तन गरेर उम्मेदवार बनेको विषयलाई स्थानीयले “राजनीतिक अवसरवाद” को संज्ञा दिन थालेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार विचार र अडानमा स्थिरता नदेखिनु नेताको विश्वसनीयतामा प्रत्यक्ष असर पार्ने विषय हो।

पूर्वमन्त्रीको हैसियतमा मधेसको मुद्दा उठाउँदै आफूलाई ‘मधेसको मसीहा’ का रूपमा प्रस्तुत गरेका यादव अहिले एमालेको चुनाव चिह्न लिएर मैदानमा उत्रिँदा समर्थक वर्गसमेत अन्योलमा परेको देखिन्छ। “हिजो जुन शक्तिविरुद्ध बोलियो, आज त्यही शक्तिबाट टिकट लिएर मत माग्नु राजनीतिक नैतिकतासँग मेल खान्छ कि खान्न?” भन्ने प्रश्न मतदाता तहमा उठिरहेको छ।

यादवले विकास, सुशासन र जनउत्तरदायी राजनीतिका कुरा दोहोर्‍याइरहेका भए पनि आलोचकहरू उनका अघिल्ला कार्यकालमा पर्सा–१ ले ठोस उपलब्धि महसुस गर्न नसकेको दाबी गर्छन्। सडक पूर्वाधार, स्वास्थ्य सेवा, शिक्षाको गुणस्तर र रोजगारीका अवसर जस्ता आधारभूत सवाल अझै जस्ताको तस्तै रहेको भन्दै मतदाताले अहिलेका प्रतिबद्धताप्रति शंका व्यक्त गरिरहेका छन्।

स्थानीयस्तरमा बढ्दो असन्तुष्टि र आफ्नै विगतका अभिव्यक्तिका कारण यादव जनता माझ विश्वास गुमाउँदै गएको आकलन भइरहेको छ। “जनताले कसरी विश्वास गरेर भोट दिने?” भन्ने अन्योल अहिले पर्सा–१ को चुनावी बहसको केन्द्रीय विषय बनेको छ।

आगामी निर्वाचनमा मतदाताले नाराभन्दा पनि राजनीतिक निष्ठा, स्थायित्व र विश्वसनीयतालाई कति प्राथमिकता दिन्छन् भन्ने कुराले नै पर्सा–१ को परिणाम निर्धारण गर्ने देखिएको छ।

Leave A Reply

Your email address will not be published.