छपकैयामा जसपा कार्यालय उद्घाटन, १५० भन्दा बढी नेता–कार्यकर्ता पार्टीमा समाहित
वीरगञ्ज (पर्सा), २९ माघ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया स्थित जनता समाजवादी पार्टी (जसपा) को नयाँ पार्टी कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा कार्यालय उद्घाटन गरिएको हो।
जसपाबाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले रिबन काटेर कार्यालय उद्घाटन गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी १५० भन्दा बढी नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पूर्वमन्त्री तथा जसपा नेता रमेश कुर्मी, जसपा नेतृ करिमा बेगम र उम्मेदवार टेमानीले अविर–टिका लगाई स्वागत गरेका थिए।
उद्घाटन समारोहमा स्थानीय नेता, कार्यकर्ता, समर्थक तथा छपकैया आसपासका बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ कार्यालय सञ्चालनसँगै पार्टीको संगठनात्मक गतिविधि थप सक्रिय र व्यवस्थित हुने अपेक्षा व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार टेमानीले पार्टी कार्यालय जनताको समस्या, सुझाव र अपेक्षा सुन्ने थलोका रूपमा सञ्चालन गरिने बताए। उनले घरदैलो, भेटघाट र मतदाता संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
पूर्वमन्त्री रमेश कुर्मीले सामाजिक न्याय, समावेशी विकास र जनअधिकारका मुद्दामा जसपा स्पष्ट रहेको उल्लेख गरे। नेतृ करिमा बेगमले महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा पार्टीको प्राथमिकता रहेको बताइन्।
कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूले जसपाको नीति तथा स्थानीय मुद्दाप्रतिको प्रतिबद्धताबाट प्रभावित भई पार्टी रोजेको बताएका छन्। कार्यालय सञ्चालनसँगै संगठनात्मक बैठक, मतदाता संवाद तथा प्रचारप्रसारका कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ।