पर्सामा एमालेभित्र असन्तुष्टि सतहमा, भगवान कुर्मी पटेलले सबै जिम्मेवारी त्यागे

13

वीरगञ्ज । पर्सामा नेकपा एमालेभित्र बढ्दै गएको असन्तुष्टि फेरि सतहमा आएको छ। पकहामैनपुर गाउँपालिका कमिटीका उप–सचिव तथा अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघ मधेश प्रदेशका प्रचार–प्रसार विभाग प्रमुख भगवान कुर्मी (कुन्नाल) पटेलले एमालेसँग सम्बन्धित आफ्ना सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका छन्।

पटेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा पार्टी नेतृत्वमाथि कडा असन्तुष्टि व्यक्त गर्दै एमाले पर्सा “ठेकेदारी प्रवृत्तिबाट चलिरहेको” आरोप लगाएका छन्। उनले यही प्रवृत्तिका कारण जिल्लामा पार्टी संगठन कमजोर बन्दै गएको दाबी गरेका छन्।

उनका अनुसार पार्टीभित्र निडर, निस्वार्थ र इमानदारीपूर्वक काम गर्ने कार्यकर्ताहरूलाई निरन्तर अपमान र अवहेलनाको शिकार बनाइएको छ।

“राजनीतिक पार्टी वा संगठन ठेकेदारहरूको नियन्त्रणमा चल्न सक्दैन, तर पर्सामा भने यही प्रवृत्तिले जरो गाडेको छ,” पटेलले वक्तव्यमा उल्लेख गरेका छन्। उनले पार्टीभित्रको अवस्थालाई “दुर्भाग्यपूर्ण” भन्दै सच्चा कार्यकर्तालाई पाखा लगाइएको आरोप समेत लगाएका छन्।

यही परिस्थितिका कारण आफूले आजकै मितिदेखि एमालेसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेको उनले बताएका छन्। पार्टीलाई “ठेकेदार प्रवृत्तिका व्यक्तिहरूको जिम्मामा छोड्दै” आफू अलग भएको उनको भनाइ छ।

पटेलको यो घोषणाले पर्सामा एमालेभित्रको आन्तरिक कलह र असन्तुष्टि थप चर्किएको संकेत दिएको छ। स्थानीय तहदेखि जिल्ला तहसम्म लामो समयदेखि गुटबन्दी, नातावाद र आर्थिक चलखेलका आरोप लाग्दै आएका बेला एकपछि अर्को युवा नेताले असन्तुष्टि सार्वजनिक गर्न थालेपछि पर्सामा एमाले संगठन दबाबमा परेको देखिन्छ।

पार्टी नेतृत्वले असन्तुष्ट कार्यकर्ताको आवाज समयमै सम्बोधन गर्न नसके आगामी दिनमा जिल्लामा एमालेले थप क्षति व्यहोर्नुपर्ने सम्भावना देखिएको छ।


Leave A Reply

Your email address will not be published.