नक्कली सुनसहित चार जना चन्द्रनिगाहपुरबाट पक्राउ
एआईद्वारा निर्मित तस्बिर
११ चैत,रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट प्रहरीले नक्कली सुनसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ करिब पौने पाँच बजे सुनचाँदीको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक रूपा लाबुङको नेतृत्वमा खटिएको टोलीले होटलको कोठा नम्बर १०२ मा चेकजाँच गरेको थियो।
जाँचका क्रममा कोठाभित्र रहेका चार जना पुरुषलाई नियन्त्रणमा लिई खानतलासी गर्दा नक्कली सुनजस्तो देखिने धातु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार अरबिन्द चौधरीको पर्सभित्र ‘प्याम्प’ लेखिएको निलो प्लास्टिकका तीन वटा प्याकमा सिलबन्दी अवस्थामा ‘क्रेडिट सुइस १० ग्राम शुद्ध सुन ९९९.९’ लेखिएको प्याकसहित पहेँलो रंगको नक्कली सुनजस्तो धातु ४ थान, पोली कालो बनाइएको १ थान र टुक्रा पारिएको अवस्थामा २ थान गरी जम्मा ७ थान बरामद गरिएको हो।
त्यसैगरी घटनास्थलबाट ६ थान मोबाइल फोन तथा ‘एन्टिक म्याग्निफाइङ बाइनोकुलर’ र ‘इस्ट इन्डिया कम्पनी’ लेखिएको दूरबीनजस्तो देखिने १ थान मेसिन समेत बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप बस्यालका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरूले सर्वसाधारणलाई ठगी गर्ने उद्देश्यले नक्कली सुन बोकी राखेको खुलेको छ।
पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारतको दार्जिलिङ बस्ने अन्दाजी ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका–६ का ३८ वर्षीय रूपकेश राय यादव र भारतको सिलिगुडी जयगाउँ बस्ने ३० वर्षीय संजोक बस्नेत रहेका छन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।