मधेस प्रदेश अपराजित, कर्णालीलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा

103

वीरगन्ज — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले आफ्नो अपराजित यात्रा कायम राख्दै कर्णाली प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ। जनकपुरस्थित रामजानकी रंगशालामा कर्णालीले दिएको १३० रनको लक्ष्य मधेसले २४।५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको हो।

जितसँगै मधेसले चार खेलमा सात अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा वर्षाले बाधा पुर्याएपछि कोशीसँग अंक बाँडेको मधेसले दोस्रो खेलमा सुदूरपश्चिमलाई पाँच विकेट र तेस्रो खेलमा लुम्बिनीलाई २५ रनले पराजित गरेको थियो।

ओपनर मयन यादव र निरज यादवले उत्कृष्ट सुरुवात गर्दै मधेसको जित सहज बनाए। निरजले ३८ र मयनले २४ रन बनाएका थिए। अरनिको यादवले अविजित ३२ र पवन सर्राफले १७ रन थपे। कर्णालीका लागि दीपेन्द्र रावतले तीन विकेट लिए भने दिवन पुन र प्रकाश जैसीले समान १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको कर्णालीले ३१।२ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाएको थियो। ओपनर रवीन्द्र शाहीले सर्वाधिक ४० रन बनाए। मधेसका युवा बलर आशिक बैठकले चार विकेट लिएर प्लेयर अफ दि म्याच घोषित भए। विशाल पटेल र अरनिको यादवले समान २–२ विकेट लिए भने प्रदीप पासवानले १ विकेट हात पारे।

नेपाल क्रिकेट संघको आयोजनामा चैत ७ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहेको छ। विजेताले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार पाउनेछन्। उत्कृष्ट चार टोली आगामी जय ट्रफीका लागि छनोट हुनेछन्।

Leave A Reply

Your email address will not be published.