खानेपानी, शिक्षा र स्वास्थ्य सुधार्ने वाचा गर्दै टेमानी घरदैलोमा डुबान र ढल

45

वीरगञ्ज, ११ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै वीरगञ्ज महानगरपालिका वडा नं. १ मा सशक्त घरदैलो तथा अगुवा भेला कार्यक्रम सम्पन्न गरेका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट उम्मेदवारी दिएका टेमानीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्यालाई आफ्नो मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे।

घरदैलोका क्रममा उनले ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूसँग भेटघाट गर्दै खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाइ र ढल निकासजस्ता आधारभूत समस्याबारे गहन छलफल गरे। स्थानीयवासीले नियमित र स्वच्छ खानेपानीको अभाव, जीर्ण पूर्वाधार, ढल निकासको कमजोरी तथा वर्षायाममा हुने डुबान समस्यालाई प्राथमिक मुद्दाका रूपमा उठाएका थिए।

अगुवा भेलामा स्थानीय बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा टोल विकास समितिका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामुदायिक विद्यालयको स्तरोन्नति, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा कृषि क्षेत्रमा मल–बीउ र सिँचाइ व्यवस्थापन सुधारको माग गरेका थिए।

टेमानीले “जनताको घरदैलोमा पुगेर सुनेका समस्याहरू नै मेरो मुख्य एजेन्डा हुन्” भन्दै खानेपानीको दीर्घकालीन योजना, वैज्ञानिक ढल निकास प्रणाली, शिक्षा–स्वास्थ्य पूर्वाधार सुदृढीकरण र कृषि आधुनिकीकरणका लागि संघीय स्तरमा पहल गर्ने प्रतिबद्धता जनाए। उनले पारदर्शी र जनमुखी राजनीति आफ्नो प्राथमिकता रहेको उल्लेख गरे।

वडा नं. १ मा भएको यस कार्यक्रमले चुनावी माहोललाई थप सक्रिय बनाएको छ। स्थानीय मुद्दालाई केन्द्रमा राख्दै अघि बढेको टेमानीको अभियानले पर्सा क्षेत्र नं. २ मा नयाँ राजनीतिक बहस सिर्जना गरेको देखिन्छ।

Leave A Reply

Your email address will not be published.