घरदैलोपछि ५८ नेता–कार्यकर्ता रास्वपामा, कानुको अभियान थप सशक्त
वीरगञ्ज, ४ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले सोमबार वीरगञ्ज महानगरपालिका–२८ को बगही र इनरवा टोलमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
घरदैलोका क्रममा कानुले रास्वपा नेतृत्वमा सरकार बनेपछि दलित समुदाय लक्षित स्वास्थ्य सेवा सुधार, शिक्षामा सहज पहुँच र स्थायी रोजगारीको व्यवस्था प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गरे।
उनले विकास, रोजगारी, शिक्षा र कृषिलाई आफ्नो मुख्य एजेन्डा भएको उल्लेख गर्दै भने,
“हिजो मात्रै रास्वपाले जनतासँगको आफ्नो करार पत्र सार्वजनिक गरेको छ। सोही करारअनुसार हामी निर्वाचित भएको पाँच वर्षसम्म काम गर्नेछौँ। जनताको आवश्यकता र चाहनाअनुसार नीति तथा कार्यक्रम निर्माण गरी व्यवहारमै देखिने विकास गर्ने हाम्रो लक्ष्य हो।”
कानुले समावेशी विकास र सामाजिक न्यायप्रति पार्टी दृढ रहेको उल्लेख गर्दै सबै वर्ग, समुदाय र क्षेत्रको हक–हितका लागि काम गर्ने प्रतिबद्धता दोहोर्याए।
घरदैलो पश्चात् आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले), नेपाली काँग्रेस, जसपा नेपाल र आजपा लगायत विभिन्न दल परित्याग गर्दै ५८ जना स्थानीय नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्। एमालेका दलित नेता शिसम् महारासहित नवप्रवेशीहरूलाई उम्मेदवार कानुले अबिर र पार्टीको खादा लगाएर स्वागत गरेका थिए।
नवप्रवेशीहरूले पुराना दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै परिवर्तन र नयाँ राजनीतिक संस्कारको आवश्यकता महसुस गरी रास्वपामा प्रवेश गरेको बताएका छन्। उनीहरूले घण्टी छापमा मतदान गर्दै रास्वपालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।