धुलामय बाटो अब इतिहास: अकलेश साहको सक्रियतामा ७५ लाखको ढलानसहित सडक निर्माण सुरु
। पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–४ मा वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सडक अब पक्की रूपमा निर्माण हुने भएको छ। मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त बजेट तथा पकाहा मैनपुर गाउँपालिकाका मेयर प्रत्याशी एवं युवा विकासवादी नेता अकलेश कुमार साहको सक्रिय पहलमा उक्त सडक निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो।
लामो समयदेखि धुलामय र हिलामय बनेको आत्माराम पथदेखि भेलाहा जाने सडक अब स्तरउन्नति तथा ढलानसहित पक्की बन्ने भएपछि स्थानीयवासीमा उत्साह छाएको छ। गाउँपालिका–४ अन्तर्गत पर्ने उक्त सडक बिग्रिएको अवस्थाका कारण आवत–जावत, बिरामी ओसारपसार, विद्यालय आवागमन तथा दैनिक व्यापारिक गतिविधिमा स्थानीयले ठूलो सास्ती भोग्दै आएका थिए।
सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ठोस पहल हुन नसकेको अवस्थामा साहले विषयलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारसँग समन्वय गरी ४० लाख रुपैयाँ बराबरको योजना गाउँमा भित्र्याउन सफल भएका हुन्। स्थानीयका अनुसार “समस्या उठेपछि तुरुन्तै समाधान खोज्ने शैली” साहको मुख्य पहिचान बन्दै गएको छ।
यसैबीच, साहकै पहलमा ठूलो लहावरथकरीदेखि आत्माराम पथ सडकसम्म थप ३५ लाख रुपैयाँको अर्को महत्वपूर्ण योजना समेत स्वीकृत भइसकेको छ। दुवै योजना कार्यान्वयनमा आएपछि वडाको सडक सञ्जालमा व्यापक सुधार आउने विश्वास गरिएको छ।
स्थानीयवासीहरूका अनुसार यसअघि पनि साहको सक्रियतामा विद्यालय भवन निर्माण, स्वास्थ्य चौकी स्तरोन्नति, मन्दिर संरक्षण, नाला निर्माणलगायतका पूर्वाधार योजना सम्पन्न भइसकेका छन्। “कागजमा मात्र होइन, काम मैदानमा देखिने नेता चाहिएको थियो, त्यो काम साहले देखाइरहनु भएको छ,” एक स्थानीयले प्रतिक्रिया दिए।
सडक निर्माण सुरु हुने खबर सार्वजनिक भएसँगै पकाहा मैनपुर–४ का बासिन्दा उत्साहित बनेका छन्। समयमै गुणस्तरीय निर्माण सम्पन्न भए शिक्षा, स्वास्थ्य, कृषि तथा स्थानीय व्यापारमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ। विकासलाई परिणाममा रूपान्तरण गर्ने युवा नेतृत्वप्रति भरोसा बढ्दै गएको स्थानीयहरूको भनाइ छ।