नेत्रहीन क्रिकेट संघ मधेशको अध्यक्षमा महेश साह कानु, नयाँ कार्यसमिति सर्वसम्मत चयन

51

वीरगञ्ज । नेत्रहीन क्रिकेट संघ, मधेश प्रदेशको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनले महेश साह कानुको अध्यक्षतामा नयाँ ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

वीरगञ्ज–९ स्थित होटल गेटवेमा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा विभा कुमारी मण्डल, महासचिवमा छोटी शेर्पा, कोषाध्यक्षमा पृथ्वी तामाङ तथा सदस्यमा संगीता कुँवर, आदित कुमार चौधरी, कविता चौधरी र रञ्जित कुमार चयन भएका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकारी पत्रकार युवराज खडका, शिक्षाविद् मार्टिन मोक्तान र सञ्चारकर्मी लालबाबु सिंहले खादा ओढाएर बधाई दिएका थिए।

संघले “नगुमोस् है कतै हाम्रो पहिचान, समावेशी, समानता एवं समतामूलक समाजको निर्माण”, “दबिएको आवाज बुलन्द होस्, अपाङ्गता अधिकार हनन नहोस्” तथा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित महाधिवेशन सम्पन्न गरेको हो।

महाधिवेशनका अवसरमा बुधबार बिहान प्रभातफेरी र्‍याली आयोजना गरिने जानकारी संघका उदित कुमार साहले दिए।

कार्यक्रम मधेश प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष महेश साह कानुको अध्यक्षता तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण चापागाईँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खडका, पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक साह, शिक्षाविद् मार्टिन मोक्तान, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, फोर जी संस्थाका अध्यक्ष नूतन पोद्दार, अफसाना खातुन, सिद्धार्थ बैंक वीरगञ्ज शाखाकी श्वेता मानन्धर, सञ्चारकर्मी राज सराफ, जाकिर हुसेन, सन्तोष कुश्वाहालगायतको सहभागिता रहेको थियो।

प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी चापागाईँले नेत्रहीन खेलाडीहरूको अनुशासन, आत्मविश्वास र मेहनत प्रशंसनीय रहेको उल्लेख गर्दै क्रिकेटमार्फत देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उनीहरूले खेलेको भूमिकाको उच्च मूल्यांकन गरे। उनले खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गर्दै राज्यबाट आवश्यक सहयोग उपलब्ध हुनुपर्ने बताए।

अध्यक्ष महेश साह कानुले स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गर्दै अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा वीरगञ्जकी खेलाडी मनकेशी चौधरीले प्राप्त गरेको सफलताले सम्पूर्ण प्रदेशलाई गौरवान्वित बनाएको बताए। उनले सीमित स्रोत र विभिन्न चुनौतीका बीच पनि सहयोगीहरूको साथले संघ अघि बढिरहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयन भए अपाङ्गता भएका व्यक्तिहरू खेलकुदमार्फत अझ सशक्त रूपमा देशको सेवा गर्न सक्षम हुने धारणा राखे।

यसै अवसरमा सिद्धार्थ बैंक वीरगञ्ज शाखाकी श्वेता मानन्धरले अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलाडी मनकेशी चौधरीलाई खादा ओढाएर सम्मान गर्दै नगद ५ हजार रुपैयाँ सहयोग प्रदान गरिन्। साथै उनले प्रभातफेरी र्‍यालीका लागि खानेपानी र खाजाको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाइन्।

सञ्चारकर्मी जय यादवले सञ्चालन गरेको कार्यक्रममा वक्ताहरूले यस्ता गतिविधिले नेत्रहीन खेलाडीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.