पर्सामा तीन महिने लागू औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामूलक अभियान शुरु
चैत्र २७, वीरगन्ज
लागू औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी तीन महिने सचेतनामूलक अभियानको पर्सामा बुधवारदेखि औपचारिक रुपमा शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा सुरु भएको अभियानमा जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्लाका १४ वटै स्थानीय तहहरूले सक्रिय सहभागिता र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पानसमा बत्ती बालेर अभियानको उद्घघाटन गरेका छन् । अभियानले पर्सा जिल्लालाई लागूऔषध दुव्र्यसनीको चपेटाबाट मुक्त बनाउने दीर्घकालीन उद्देश्य बोकेको बताए । आगामी तीन महिनासम्म जिल्लाका सबै स्थानीय तहहरूमा व्यापक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने योजना छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले लागूऔषध दुव्र्यसनी नियन्त्रणका लागि केवल प्रतिबद्धता व्यक्त गर्नु मात्र पर्याप्त नभएर सबै पक्षले मिलेर ठोस कदम चाल्नुपर्ने बताए । उनले वीरगञ्ज र पर्सा जिल्लाको भारतसँगको खुला सिमानाले लागूऔषधको ओसारपसार र सेवनको जोखिमलाई थप जटिल बनाएको उल्लेख गरे ।
विद्यालय, टोल समुदाय, युवा क्लबहरू र विभिन्न सरोकारवाला संघसंस्थाहरूसम्म पुगेर आयोजना गरिने कार्यक्रमहरूले लागूऔषधको प्रयोग, यसको दुष्प्रभाव र रोकथामका उपायहरूबारे जनचेतना फैलाउने लक्ष्य राखिएको छ । अभियानको प्रभावकारिता बढाउन स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक नेतृत्व र प्रहरी संगठनका प्रमुखहरूले संयुक्त रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले लागूऔषध दुव्र्यसनीलाई नेपाली समाज र युवा पुस्ताका लागि गम्भीर चुनौतीको रूपमा चित्रण गरे । उनले स्थानीय तहहरूलाई आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा लागूऔषध रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राखेर छुट्टै बजेट विनियोजन गर्न आग्रह गरे । प्रजिअ अर्यालले समस्याको समाधानका लागि प्रशासन, प्रहरी र समुदायबिच बलियो समन्वयको आवश्यकता रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले कार्यक्रममा लागूऔषध दुव्र्यसनीको वर्तमान अवस्था र यसले निम्त्याएका समस्याहरूबारे विस्तृत प्रस्तुति दिए । उनले लागूऔषधको प्रयोगले व्यक्तिको स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक संरचनामा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराए । कार्यक्रममा सहभागी सबै पक्षले अभियानलाई प्रभावकारी बनाउन र पर्सा जिल्लालाई लागू औषध मुक्त बनाउने सपनालाई साकार पार्न आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने प्रतिबद्यता गरेका छन् ।