पर्सा–३ बाट एमालेका उम्मेदवार रूपेश पाण्डे: “लोकप्रियता होइन, काम गर्न राजनीतिमा आएको

58

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश पाण्डेले आफू लोकप्रियताका लागि नभई काम गर्न राजनीतिमा आएको स्पष्ट पारेका छन्। जनतामाझ आफ्ना प्राथमिकता सार्वजनिक गर्दै उनले राजनीति सेवा र जिम्मेवारी भएको बताएका हुन्।

उम्मेदवार पाण्डेले आफ्नो व्यक्तिगत एजेन्डा स्पष्ट रहेको उल्लेख गर्दै किसान, युवा, महिला, जेष्ठ नागरिक तथा शिक्षा–स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको जानकारी दिए।

कृषि क्षेत्रको रूपान्तरण आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै उनले साना किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था, मलखाद र सिँचाइको सहज उपलब्धता तथा बजार व्यवस्थापन सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। “किसान बलियो भए मात्रै देशको अर्थतन्त्र बलियो हुन्छ,” उनले भने।

शिक्षा र स्वास्थ्य क्षेत्रको आधुनिकीकरणमा जोड दिँदै उनले प्रविधिमैत्री तथा सीपमूलक शिक्षाको विस्तार गर्ने र स्वास्थ्य चौकीहरूको स्तरोन्नति गर्दै गुणस्तरीय सेवा आमनागरिकसम्म पुर्‍याउने लक्ष्य रहेको बताए।

युवालाई विदेशिनु नपर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाउँदै उनले नेपालमै सम्मानजनक रोजगारी र सीप विकासका अवसर बढाउने योजना रहेको जानकारी दिए।

महिलाको नेतृत्व र निर्णय प्रक्रियामा वास्तविक सहभागिता सुनिश्चित गर्ने तथा जेष्ठ नागरिकका लागि समुदाय–आधारित सहयोग प्रणाली विकास गर्ने उनको अर्को प्राथमिकता रहेको छ।

साथै, निर्वाचित भएमा नियमित जन–प्रतिवेदन सार्वजनिक गर्ने र प्रत्यक्ष जवाफदेहिताको अभ्यास गर्ने वाचा उनले गरे।

“म नारा होइन, संरचना बनाउन चाहन्छु। म भीड होइन, भविष्यसँग उभिन चाहन्छु,” उनले भने, “यदि राजनीति सेवा हो भने, म त्यसलाई अभ्यासमा देखाउन चाहन्छु।”

Leave A Reply

Your email address will not be published.