बङलादेशका अल्पसंख्यक हत्याको विरोधमा जनमत पार्टी निकट युवाद्वारा श्रद्धाञ्जली
वीरगन्ज, पौष १२
बङलादेशमा निर्मम रूपमा हत्या गरिएका अल्पसंख्यक नागरिक दिपु चन्द्र दाश र निर्मल मण्डलको आत्माको शान्ति तथा न्यायको माग गर्दै जनमत पार्टी निकट युवा दस्ता पर्साले वीरगन्जको घण्टाघरमा शान्तिपूर्ण श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
युवा दस्ता पर्साका अध्यक्ष मनोज साहको नेतृत्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूले पाँच मिनेट मौन धारण गर्दै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरिएको थियो।
साथै, सहभागीहरूले बङलादेशमा बसोबास गर्ने अल्पसंख्यक हिन्दु समुदायको सुरक्षा सुनिश्चित गर्न तथा सम्मानका साथ बाँच्न पाउने मौलिक अधिकारको प्रत्याभूति गरिनुपर्ने माग गरेका थिए।
कार्यक्रमका क्रममा वक्ताहरूले मानव अधिकार, धार्मिक सहिष्णुता र अल्पसंख्यकको सुरक्षाका विषयमा अन्तर्राष्ट्रिय समुदायले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए। शान्तिपूर्ण रूपमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा स्थानीय युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।