बाढीपीडितका लागि बागेश्वरधाम समितिको १ हजार थान कपडा सहयोग

32

वीरगञ्ज । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि बागेश्वरधाम मण्डल जनसेवा समिति पर्साले १ हजार थान कपडा सहयोग गरेको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत वितरण गर्न जान लागेका ठोरी युवा समाजका सदस्य तथा सामाजिक अभियन्ता माधव बस्नेतलाई उक्त कपडा हस्तान्तरण गरिएको हो। वीरगञ्जको घण्टाघरमा आयोजित कार्यक्रममा राहत सामग्री हस्तान्तरण गरिएको थियो।

बागेश्वरधाम मण्डल जनसेवा समिति पर्साका अध्यक्ष तथा बागेश्वरधाम शिष्य मण्डल बिहारका सदस्य कन्हैया पटेलको पहलमा उक्त राहत सामग्री जुटाइएको हो।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष पटेलले विपत्तिको समयमा जात, धर्म, भाषा, क्षेत्र तथा राजनीतिक विचारभन्दा माथि उठेर मानव सेवामा जुट्नुपर्ने बताए। बाढी तथा पहिरोबाट प्रभावित परिवारको पीडामा साथ दिन बागेश्वरधाम परिवार सधैँ तयार रहेको उनको भनाइ थियो।

पटेलले गुरुदेव पीठाधीश्वर श्री धीरेन्द्र कृष्ण शास्त्रीको आदेश तथा प्रेरणाअनुसार आफ्नो क्षमताले भ्याएसम्म विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने प्रयास गरिएको बताए।

उनले हस्तान्तरण गरिएको कपडा राहत सामग्री मात्र नभई पीडित परिवारप्रतिको माया, सद्भाव, सहानुभूति र मानवताको प्रतीक भएको बताए। संकटको समयमा प्रभावित परिवारलाई आफूहरू एक्लो नभएको अनुभूति गराउनु सहयोगको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।

कार्यक्रममा बागेश्वरधाम मण्डल जनसेवा समिति पर्साका अध्यक्ष कन्हैया पटेल, शम्भु महतो थारु, युनिक पटेल, सन्तोष साहलगायतको उपस्थिति थियो। कार्यक्रममा सञ्चारकर्मी तथा पत्रकारहरूको समेत सहभागिता रहेको थियो।

बागेश्वरधाम परिवारले बाढी तथा पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारको जनजीवन चाँडै सामान्य अवस्थामा फर्कियोस् भन्ने कामना गरेको छ।

समितिले सरकार, विभिन्न संघसंस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा आम नागरिकलाई आफ्नो क्षमताअनुसार विपत्तिमा परेका परिवारको राहत तथा उद्धारमा जुट्नसमेत अपिल गरेको छ।

Leave A Reply

Your email address will not be published.