बाढीपीडित शेष महतो नुनियालाई बृजेश्वर चौधरीद्वारा ५ हजार सहयोग
वीरगञ्ज असोज ३ ।
जगरनाथपुर गाउँपालिका–५ झखरा धर्मपुर टोलमा बस्दै आएका रसुवाको त्रिशूली बाढीपीडित परिवारलाई स्थानीय बृजेश्वर प्रसाद चौधरीले आर्थिक सहयोग गरेका छन्।
चौधरीले बाढीपीडित शेष महतो नुनियाको घरमै पुगेर तत्काल राहतस्वरूप ५ हजार रुपैयाँ सहयोग गरेका हुन्। विपद्को घडीमा थोरै भए पनि सहयोगको बाटो खुलोस् भन्ने उद्देश्यले आफूले सहयोग गरेको चौधरीले बताएका छन्।
महतोको परिवार करिब १५ वर्षदेखि रसुवाको त्रिशूली चोकमा डेरा लिएर बस्दै आएको थियो। त्यहाँ उनले मोटरसाइकल ग्यारेज सञ्चालन गर्नुका साथै मोटरसाइकलका केही स्पेयर पार्ट्सको कारोबार गर्दै आएका थिए। ग्यारेजसँगै किराना पसलसमेत सञ्चालनमा थियो।
तर त्रिशूलीमा आएको बाढीका कारण ती दुवै पसल तीव्र पानीको बहावमा बगेपछि परिवारको सम्पूर्ण व्यवसायिक सामान नष्ट भएको पीडित महतोले बताएका छन्। बाढीबाट ज्यान जोगाउन परिवारका सदस्यहरू जसोतसो नजिकैको अग्लो टिलामा पुगेर सुरक्षित भएका थिए।
महतोका दुई छोरी र एक छोरा रहेका छन्। बाढीपछि उनीहरू बाध्य भएर हाल जगरनाथपुर गाउँपालिका–५ स्थित गाउँमै बस्दै आएका छन्।
बाढीबाट भएको क्षतिपछि महतोले गाउँपालिका अध्यक्षसँग भेट गरी सहयोगका लागि आग्रहसमेत गरेका छन्। गाउँपालिका प्रमुखले सहयोग गर्ने आश्वासन दिएको बताइएको छ।
यसअघि जगरनाथपुर गाउँपालिकाले रसुवामा गएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि करिब १५ लाख रुपैयाँ सहयोग गरेको थियो। सोही सन्दर्भमा गाउँपालिकाभित्रै बसोबास गरिरहेका रसुवा बाढीपीडित परिवारलाई समेत वडा तथा पालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको छ।