मूनालाइट स्कुलद्वारा वातावरणीय सचेतना अभिवृद्धि गर्ने सरसफाइ कार्यक्रम

57

मंसिर २६,वीरगञ्ज

मूनालाइट स्कुल वीरगञ्जका कक्षा ७ र ८ का स्काउट विद्यार्थीहरूले बिहिबार ६ नं. गेट क्षेत्रदेखि कुम्हाल टोलसम्म सरसफाइ अभियान सञ्चालन गरेका छन्। स्काउट पोशाकमै सहभागी विद्यार्थीहरूले सडक, पसल अगाडिका स्थान, गल्ली तथा सार्वजनिक क्षेत्रहरूमा व्यापक रूपमा सरसफाइ गरेका थिए।

झाडू, बोरा र आवश्यक सामग्रीसहित सक्रिय रूपमा जुटेका विद्यार्थीहरूको सहभागिताले अभियान प्रभावकारी बनेको विद्यालयले जनाएको छ। स्थानीय बासिन्दाले विद्यार्थीहरूको पहलप्रति प्रशंसा व्यक्त गर्दै यस्ता सामाजिक गतिविधि नियमित रूपमा सञ्चालन गरिँदा टोल थप स्वच्छ र सुन्दर हुने धारणा व्यक्त गरेका छन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम के.सी. तथा भूपनारायण पटेल उपस्थित थिए। विद्यार्थीहरूले “आफ्नो टोल सफा राखौं” भन्ने सन्देशसहित बाटामा फालिएका प्लास्टिक, फोहोर तथा अन्य अवशेषहरू संकलन गर्दै स्थानीयमा वातावरणीय सचेतना बढाएका थिए।

यसैगरी, वडा नम्बर ५ का अध्यक्ष प्रदीप चौरसियाले अभियानमा आवश्यक सहयोग प्रदान गर्दै विद्यार्थीहरूलाई सरसफाइको महत्त्वबारे अभिमुखीकरण गराएका थिए।

विद्यालयका अनुसार भोलि बिहान १० बजेपछि स्काउट टोली कुम्हाल टोलका घर–घरमा पुगेर सरसफाइको सन्देश सुनाउने तथा “आफ्नो घर वरिपरि सफा राखौं” भन्ने विषयमा पम्पलेट वितरण गर्ने कार्यक्रम तय गरिएको छ।

Leave A Reply

Your email address will not be published.