रक्षाबन्धनमा राखी बाँध्ने उत्तम समय बिहान ५:५७ देखि ९:४८ बजेसम्म
वीरगञ्ज, ११ भदौ । ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबे (सिद्धिविनायक ज्योतिष केन्द्र) ले भोलि भाद्र १२ गते शुक्रबार (२८ अगस्ट २०२६) मनाइने रक्षाबन्धन पर्वका लागि राखी बाँध्ने मुख्य शुभ साइत तथा समय तालिका सार्वजनिक गर्नुभएको छ।
विश्व ज्योतिष महासंघका एसिया उपसभापति तथा वृहस्पति फाउण्डेसन नेपालका अध्यक्षसमेत रहनुभएका डा. दुबेका अनुसार यस वर्ष रक्षाबन्धनका लागि बिहानको समय सबैभन्दा उत्तम रहेको छ।
उहाँका अनुसार बिहान ५:५७ बजेदेखि ९:४८ बजेसम्म पूर्णिमा तिथि रहने भएकाले उक्त अवधि राखी बाँध्नका लागि मुख्य तथा अति उत्तम शुभ साइत रहेको छ। बिहानको समयमा राखी बाँध्न छुटेकाहरूका लागि दिउँसो १:४० बजेदेखि साँझ ४:१५ बजेसम्म पनि उपयुक्त समय रहेको उहाँले बताउनुभएको छ।
डा. दुबेले शुभ कार्य गर्दा राहुकाललाई विशेष ध्यान दिनुपर्ने बताउँदै बिहान १०:४६ बजेदेखि दिउँसो १२:२२ बजेसम्मको राहुकालमा राखी नबाँध्न आग्रह गर्नुभएको छ।
यस वर्ष नेपाल तथा भारतमा कुनै पनि प्रकारको ग्रहण नरहेकाले रक्षाबन्धन पर्वमा ग्रहणसम्बन्धी बाधा नरहेको उहाँले स्पष्ट पार्नुभएको छ। भक्तजन तथा सर्वसाधारणले निर्धक्क भई शास्त्रोक्त विधिअनुसार रक्षाबन्धन पर्व मनाउन सक्ने डा. दुबेले बताउनुभएको छ।