रोटरीद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, १,१०० भन्दा बढीले पाए नयाँ सहारा
वीरगञ्ज, साउन १९ — रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्र अन्तर्गतको रोटरी कृत्रिम हात परियोजनामार्फत मंगलबार निःशुल्क कृत्रिम हात तथा खुट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ।
आर्थिक अवस्था कमजोर भएका तथा दुर्घटना वा अन्य कारणले हात–खुट्टा गुमाएका व्यक्तिहरूलाई पुनः सामान्य जीवनयापनमा फर्काउने उद्देश्यले सञ्चालित यस परियोजनाबाट हालसम्म १,१०० भन्दा बढी व्यक्तिले निःशुल्क कृत्रिम हात तथा खुट्टाको सुविधा पाइसकेको केन्द्रले जनाएको छ।
वीरगञ्ज महानगरपालिका–४ स्थित नारायणी अस्पताल पछाडि रहेको रोटरी डायग्नोस्टिक सेन्टरमा आयोजित कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा वीरगञ्जस्थित डीएभी स्कुलका कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरूले समेत परियोजनाको अवलोकन गरेका थिए।
यस अवसरमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाबाट आएका राधा पौडेल, थमन सिंह ताम्राकार र झबिन्द्र बहादुरलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरिएको थियो। दुर्घटनाका कारण अंग गुमाएका उनीहरूले कृत्रिम अंग पाएपछि नयाँ जीवनको अनुभूति भएको भन्दै रोटरी परिवारप्रति आभार व्यक्त गरे।
प्रमुख अतिथि चौधरीले रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले गर्दै आएको सेवा मानवीय र अनुकरणीय भएको उल्लेख गर्दै दुर्घटना वा अन्य कारणले शारीरिक अंग गुमाएका व्यक्तिलाई आत्मनिर्भर र सम्मानजनक जीवनतर्फ फर्काउने कार्य समाजसेवाको उत्कृष्ट उदाहरण भएको बताए।
उनले रोटरीले कृत्रिम अंग मात्र नभई आशा, आत्मविश्वास र नयाँ जीवन प्रदान गरेको उल्लेख गर्दै यस्ता सेवामूलक अभियानलाई सबै पक्षबाट सहयोग र प्रोत्साहन आवश्यक रहेको बताए। साथै, यस्ता कार्यक्रमको अवलोकनबाट विद्यार्थीहरूले सेवा भावना, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको महत्त्व बुझ्ने अवसर प्राप्त गर्ने उनको भनाइ थियो।
रोटरी क्लब अफ वीरगञ्जका नवनिर्वाचित अध्यक्ष रोटेरियन राकेश मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रोजेक्ट कोअर्डिनेटर डा. शाश्वत प्रसाद, सदस्य डा. आनन्द कुमार झा, रोटेरियन अभिषेक चौधरी लगायतको उपस्थिति रहेको थियो।
विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले आर्थिक रूपमा विपन्न तथा दुर्घटना, रोग वा अन्य कारणले हात–खुट्टा गुमाएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम अंग उपलब्ध गराउँदै उनीहरूको जीवन सहज, आत्मनिर्भर र सम्मानजनक बनाउन योगदान पुर्याउँदै आएको छ। केन्द्रले आगामी दिनमा सेवा अझ विस्तार गर्दै बढीभन्दा बढी आवश्यकतामन्दसम्म पुग्ने प्रतिबद्धता जनाएको छ।