वत्सालय एभरेस्ट महिला भलिबल लिगबारे वीरगंजमा पत्रकार सम्मेलन, मधेश युनाइटेडको लक्ष्य मधेशको पहिचान बढाउने
वीरगंज, ३० साउन ।
वत्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणबारे आज शुक्रबार बिहान नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित नेपालको प्रमुख प्रवेशद्वार वीरगंजको शंकराचार्य गेटमा पत्रकार सम्मेलन गरिएको छ।
पत्रकार सम्मेलनमा मधेश युनाइटेडका सञ्चालक सञ्जय अग्रवाल ले मधेश युनाइटेड एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइज टिम भएको उल्लेख गर्दै भने, “यो टिम केवल खेलका लागि मात्र होइन, मधेशको पहिचान बढाउने, महिला खेलाडीलाई प्रोत्साहन दिने र राष्ट्रियस्तरमा मधेशको प्रतिनिधित्व गर्ने उद्देश्यका साथ स्थापना भएको हो।”
मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर नीति शाह ले टिमसँग आबद्ध हुन पाउँदा गर्व महसुस भएको बताइन्। उनका अनुसार, “मधेश युनाइटेड केवल खेलकुद टिम मात्र होइन, महिला सशक्तीकरणको एउटा प्रेरणादायी उदाहरण हो। यस टिमको यात्रामा सहभागी हुन पाउनु मेरो लागि विशेष अवसर हो।”
मार्की प्लेयर निरुता ठगुन्ना ले पनि नयाँ जोश र आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता जनाउँदै भनिन्, “विगतको अनुभव र पहिलेका कमीकमजोरीलाई सुधार्दै यसपटक हामी उत्कृष्ट खेल प्रदर्शन गर्नेछौं र ट्रफी मधेशमै ल्याउनेछौं।”
सञ्चालक शर्मिला थापा ले मधेश युनाइटेडलाई “मधेशको शान” भन्दै, यस टिमले मधेशका महिलालाई खेलमा आकर्षित गर्ने, उनीहरूलाई सशक्त र आत्मनिर्भर बनाउन योगदान दिने विश्वास व्यक्त गरिन्।
सो अवसरमा सञ्चालकहरु विशाल अग्रवाल, रोहित अग्रवाल, दिपेश अग्रवाल र अनोज़ रुंगटा लगायतको उपस्थिति थियो। सञ्चालन प्रमुख खुशी शिवाकोटी का अनुसार, वत्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २३ देखि २८ गतेसम्म पोखरामा आयोजना हुनेछ।