विश्व प्रेस स्वतन्त्रता दिवसमा अध्यक्ष खनालको नेतृत्वमा पर्सा शाखाद्वारा प्रभातफेरी आयोजना
वीरगञ्ज, वैशाख २० — विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले वीरगञ्जमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। शाखाका अध्यक्ष ओम प्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासङ्घका पदाधिकारी तथा पर्साका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा शाखाका सचिव विजय महतो, सह–सचिव एसके चौरसियालगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। प्रभातफेरी वीरगञ्जको घण्टाघरबाट सुरु भई शहरका विभिन्न मुख्य मार्गको परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर समापन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। उनले संघीय संसद्मा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक, सूचना प्रविधि ऐनलगायत सञ्चारसम्बन्धी विभिन्न विधेयकप्रति महासङ्घको गम्भीर चासो रहेको उल्लेख गरे।
उनले सञ्चार क्षेत्र आर्थिक संकटबाट गुज्रिरहेको, पत्रकार पलायन बढिरहेको तथा निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन र सूचना प्रवाहमा अवरोध देखिनुले पत्रकारिता क्षेत्र थप संकटमा परेको बताए।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अध्यक्ष खनालले सम्पूर्ण सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै पेसागत संगठन, नागरिक अगुवा तथा सरोकारवालाबीच ऐक्यबद्धता आवश्यक रहेको धारणा राखेका छन्।