विश्व फार्मासिस्ट दिवसको अवसरमा बीरगञ्जमा खुला रक्तदान कार्यक्रम सम्पन्न

79

बीरगञ्ज, असोज 9
हरेक वर्ष सेप्टेम्बर २५ का दिन मनाइने विश्व फार्मासिस्ट दिवस यस वर्ष बीरगञ्जमा खुला रक्तदान कार्यक्रम गरी मनाइएको छ। “रक्तदान जीवनदान, सेवा नै धर्म हो—रक्तदान गरौं, स्वास्थ्य रहौं” भन्ने मूल नाराका साथ बिहीबार औषधि व्यवस्था विभाग, बीरगञ्जको परिसरमा कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रम नेपाल फर्मास्युटिकल एसोसिएसन मधेस प्रदेश, फार्मा क्लब बीरगञ्ज र औषधि व्यवस्था विभाग बीरगञ्जको संयुक्त आयोजनामा गरिएको थियो। कार्यक्रममा स्वास्थ्यकर्मी, फार्मासिस्ट, औषधि व्यवसायी र एसोसिएसनका पदाधिकारीसहित विभिन्न व्यक्तिहरूले रक्तदान गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल फर्मास्युटिकल एसोसिएसन मधेस प्रदेशका अध्यक्ष शशिकान्त ठाकुर सहभागी थिए। त्यस्तै औषधि व्यवस्था विभाग बीरगञ्जका शम्भु ठाकुर, फार्मा क्लब बीरगञ्जका अध्यक्ष निरज कुमार गिरी, उपाध्यक्ष रमन भुरेर यादव, एनपीएका सचिव युगल किशोर शरण लगायतको विशेष उपस्थिति रहेको थियो।

सहभागी वक्ताहरूले रक्तदानलाई जात–धर्मभन्दा माथि उठेर मानवता र जीवन बचाउने महत्त्वपूर्ण कार्यका रूपमा व्याख्या गर्दै स्वास्थ्य क्षेत्रसँग आबद्ध व्यक्तिहरूले यसलाई अझ प्रेरणादायी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

फार्मा क्लब बीरगञ्जका अध्यक्ष निरज कुमार गिरीले “विश्वभरिका फार्मासिस्टहरूको योगदानलाई सम्मान गर्ने मात्र होइन, समाजका लागि केही गर्ने उदेश्यले हामीले खुला रक्तदान कार्यक्रम आयोजना गरेका हौं,” भन्दै विश्व फार्मासिस्ट दिवसको महत्त्व उजागर गरे।

कार्यक्रममा रक्तदान गर्नेहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। रक्तदान गर्नेहरूमा निरज कुमार गिरी, शशिकान्त ठाकुर, शशिकान्त चौधरी, रमन घुरेल यादव, साजाद आलम, चन्दन चौरसिया, रामकिशोर पटेल, रमन भुरेर यादव, भूषण प्रसाद यादव लगायत रहेका थिए।

रक्त संचार केन्द्रका प्रविधिक जितेन्द्र कुशवहाका अनुसार कार्यक्रममा उल्लेख्य संख्यामा सहभागीले स्वेच्छिक रक्तदान गरेका छन्।

Leave A Reply

Your email address will not be published.