वीरगंजमा एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण, मधेश युनाइटेडको नयाँ जर्सी सार्वजनिक

72

 

वीरगंज । मधेश स्पोट्र्स प्रा.लि.को आयोजनामा आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुने वत्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगंजमा भव्य कार्यक्रमबीच अनावरण गरिएको छ ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर तथा कलाकार मिस नेपाल इन्टरनेशनल नीति शाहले संयुक्त रूपमा ट्रफी अनावरण गरेका हुन् । ट्रफी अनावरण समारोहकै अवसरमा मेयर सिंहले टिमको नयाँ जर्सी पनि सार्वजनिक गर्दै मार्की प्लेयर निरुता ठगुन्नालाई हस्तान्तरण गरेका छन् ।

समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले भलिबलको विकास र महिला सशक्तीकरणमा यस लिगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, “खेल केवल मनोरञ्जन मात्र होइन, यसले पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउँछ । वीरगंज महानगर भलिबलको प्रवद्र्धनमा पूर्ण प्रतिबद्ध छ ।”

मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यले भलिबल खेलको सामाजिक, मानसिक र शारीरिक लाभबारे चर्चा गर्दै यसलाई निरन्तरता दिनुपर्ने र मधेशमा गतिविधि अझ विस्तार गर्नुपर्ने सुझाव दिए ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले यस्ता प्रतियोगिताले युवालाई सकारात्मक बाटो देखाउने र शहरको प्रतिष्ठा बढाउने बताए ।

मधेश युनाइटेडका सञ्चालक विशाल अग्रवालले संस्थाको स्थापना र उद्देश्यबारे प्रकाश पारे ।

मधेश युनाईटेडकी सञ्चालन प्रमुख खुशी शिवाकोटीले टिमको विगत, सिकाइ र आगामी योजनाबारे प्रस्तुति दिँदै भनिन्, “हामी सुधार र प्रतिबद्धतासहित मैदानमा फर्किंदैछौं ।” उनले यसपटक टिमले नेदरल्याण्डका तीनजना अन्तर्राष्ट्रिय खेलाडी अनुबन्धन गरेको जानकारी पनि दिइन् ।

ब्रान्ड एम्बेसडर नीति शाहले टिमसँग आबद्ध हुन पाउँदा गर्व र उत्साह लागेको बताउँदै भनिन्, “यो टिम खेलकुद, महिला सशक्तीकरण र पहिचानको उत्कृष्ट उदाहरण हो ।”

मार्की प्लेयर निरुता ठगुन्नाले नयाँ जोश र आत्मविश्वासका साथ यसपटकको ट्रफी मधेशमै ल्याउने संकल्प व्यक्त गर्दै भनिन्, “विगतको अनुभव र पहिलेका कमीकमजोरीलाई सुधार गर्दै यसपटक उत्कृष्ट प्रदर्शन गर्नेछौं र ट्रफी उचाल्नेछौं ।”

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली सेना श्रीजंग गणका प्रमुख सेनानी लोकेन्द्र कार्की, अनुसन्धान विभागका उपनिर्देशक सन्तोष ढुंगेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख टिकाराज चौलागाईं, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, लगायतको उपस्थिति रहेको संस्थाका सञ्चालक सञ्जय अग्रवालले जानकारी दिए ।

मधेश युनाइटेडकी सञ्चालक शर्मिला थापाका अनुसार भलिबल राष्ट्रिय खेल मात्रै नभएर एकताको सुत्रमा बाँध्ने माध्यम पनि हो । सुदुरपश्चिमको दार्चुलामा जन्मिएकी निरुतालाई मधेशको मार्की प्लेयर बनाउनु पनि आफैमा फरक भूगोल र फरक क्षेत्रको संस्कार र संस्कृतिको मिलन भएको उनको बुझाई छ । सञ्चालक अनोजÞ रुंगटाले धन्यवाद ज्ञापन गर्दै मधेश युनाईटेडलाई साथ, सहयोग र सर्मथन गर्न आग्रह गरे । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क. ले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.